भोजपुर तिम्मामा रहेको सिक्की संघ नेपालले भुकान दिवस मनायो


भोजपुर, ५ पौष । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– १ तिम्मा खम्बुखामा रहेको सिक्की संघ नेपालले १८ औँ वातावरणीय सरसफाई तथा भुकान दिवस मनाएको छ । फोहोर तथा प्लाष्टिक जन्य फोहोर व्यस्थापन गर्न भुकान अर्थात फोहोर हाल्ने डस्विनलाई स्थानीय स्तरमा पाईने बाँस, निगालो, मालिङ्गो लगायत प्रयोग गरेर निर्माण गर्दै आएको संघ १८ वर्ष पुगेको अवसरमा कार्यक्रम गरेको हो ।प्लाष्टिक जन्यबस्तुलाई जथाभावी फल्दा वातावरणमा प्रदुषण हुने साथै फोहोर राख्नका लागि पनि धातु तथा प्लाष्टिकबाट बनेका भुकान अर्थात फोहोर फाल्ने टोकरी बजारबाट किनेर प्रयोग गर्ने प्रचलन रहेकोले स्थानीय श्रोत र साधनबाट बनेका सामाग्रीको प्रबद्र्धन गर्न आवश्यक रहेको स्थानीय समाजसेवी तथा संगम जडीबुटी उद्योगका सञ्चालक संगम राईले बताउनु भयो । राईले भुकानको विस्तार गर्दै वातावरणीय क्षेत्रको सरसफाईमा जुट्दै आएको सिक्की संघ नेपाललाई संगम जडीबुटी उद्योगको तर्फबाट रु. दश हजारसमेत सहयोग गरेका छन् ।

राईले भने,‘ यस हाम्रो तिम्मामा विगत १८ वर्ष अघिबाट वातावरण स्वच्छ बनाउनको लागि घर तथा सार्वजनिक ठाउँमा भुकान अर्थात फोहोर हाल्ने टोकरी निर्माण गरेर राख्ने गरेका छौँ, जुन भुकान स्थानीय स्तरमा यहाँकै कच्चा पदार्थबाट बन्ने भएकोले सहज रुपमा सड्ने हुन्छ सस्तो हुन्छ, तर यसको प्रचार प्रसार हुन सकेको छैन्, अन्य ठाउँमा पनि यस्तो चेतना फैलाउने हाम्रो लक्ष्य छ, आ–आफ्नो ठाउँबाट वातावरणको संरक्षणमा जुट्न आवश्यक छ ।’’

सिक्की संघ नेपालका अध्यक्ष निरकुमार राईले आफूले संघको स्थापना गरेर वातावरणको विकासमा जुटेको बताए । उनले आफैले बनाएर संघको लागि २१८ ओटा भुकान वितरण गरेको समेत जानकारी दिए । उनले भने,‘हाम्रो संघले वातावरणको सरक्षणको लागि यस ठाउँमा विभिन्न खाले सचेतनाका कार्यक्रम गरिरहेको छ, स्थानीय सरकार तथा स्थानीय नागरिकको साथ छ, यसलाई सम्पूर्ण क्षेत्रमा विकास गर्ने हाम्रो लक्ष्य छ, स्थानीय स्तरमा बनाउन सकिने भुकानका फाईदा धेरै छन्, हामीले गाउँटोलमा भुकान राख्नु पर्छ भन्ने सचेतना दिएसंगै प्लाष्टिक जन्य फोहोर यत्रतत्त्र छरिएको देख्न पाईदैन ।’’

कार्यक्रममा बोल्दै वडाध्यक्ष नरबहादुर राईले सिक्की संघले गरिरहेको काममा वडा कार्यालयले पनि सहाकार्य गरेर वातावरणीय सरसफाईमा जुट्ने बताए । वडाध्यक्ष राईले भने, वातावरणको संरक्षणमा वडा कार्यालयले पनि विभिन्न खालका सचेतनाका कार्यक्रम गरिरहेको छ, यो संघले गरिरहेको काममा वडा कार्यालयले केहि सहयोग गरिरहेको छ, यसको उद्धेश्य राम्रो रहेकोले आगमी दिनमा थप सहकार्य गर्ने वडाको योजना छ ।’

कार्यक्रम मार्फत विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो, भने सरसफाईमा लागेका बालवालिका तथा स्थानीयलाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरिएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार