मुख्यमन्त्रीद्धारा ‘टेम्के भ्यू टावर’को शिलान्याससंगै उज्यालो गाउँपालिका घोषणा


भोजपुर, २४ कात्तिक ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको टेम्केडाँडामा ‘टेम्के भ्यू टावर’ को शिलान्यास गरेका छन्। मुख्यमन्त्री राईले आज एक कार्यक्रमका बीच टावरको शिलान्यास गरेका हुन् । तीन हजार १०० मिटर उचाइ रहेको सो डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको हो ।
कुन्सालिङ कन्ट्रसन भोजपुरले आगमी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले किराँत राईहरुको सस्कृतिको उजागर गर्ने तबरबाट टावरको निर्माण गरिने जानकारी दिए । यसले भोजपुरको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने समेत बताए ।


मुख्यमन्त्री राईले भने‘यो टावर किराँत राईहरुको सस्कृति झल्कने गरी चिण्डो आकारमा निर्माण हुनेछ, यो प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागेको पहिलो टावर हो, यो विशेष महत्वका साथ निर्माण गरिने छ ।’ टावर २० मिटर अग्लो रहने जनाइएको छ । टावरको पहिलो तलामा म्यूजियम रहने छ ।
त्यस्तै मुख्यमन्त्री राईले सोमबार नै टेम्केमैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका समेत घोषणा गरेका छन् । गाउँपालिका, प्रदेश सरकार संघीय सरकार र विद्युत् प्राधिकरणको आर्थिक लगानीमा गाउँपालिकामा विद्युत् विस्तार गरिएको हो ।
विद्युत विस्तारको लागि गाउँपालिकाको रु. ६ करोड २०  लाख, नेपाल विद्युत् प्राधिकरणको  रु. ६ करोड ६० लाख र संघीय सरकारको रु.५० लाख र प्रदेश सरकारको रु. १० लाख लागतमा गाउँपालिका भरी विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । भोजपुरमा हालसम्म ४८ प्रतिशत जनता विद्युत्को पहँुचमा रहेको नेपाल विद्युत् प्राधिकरण भोजपुरका प्रमुख रविनबावु घिमिरे जानकारी दिए। गाउँपालिकाभर तीन हजार ७३८ घरपरिवार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार