
भोजपुर, १७ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक कोभिड– १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सहितको पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो । पौवादुङ्मा गाउँपालिकाले कोभिडका विरामीलाई उपचार गर्नका लागि आवश्यक सुविधा सहितको अस्थायी अस्पताल निर्माण गरेको हो । जिल्लाका नौ ओटा स्थानीय तह मध्ये यो गाउँपालिकाले पहिलो पटक अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयबासी हर्षित भएका छन् । उनीहरु अब भने स्थानीयस्तरमा स्वास्थ्य सुविधा पाउने ढुक्क भएका छन् । स्थानीयबासी विष्णु भट्टराईले भने, ‘हाम्रो स्थानीय सरकारले कोरोनाको उपचारका लागि छुटै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ, अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ ।’

केन्द्र सरकारको निर्देशन अनुसार अस्पताल निर्माण गरेको गाउँपालिकाले जनाएको छ । केन्द्रबाट आएको १० लाख रकम अभाव भएमा गाउँपालिकाले समेत लगानी गरेर स्थानीयलाई थप सेवा विस्तार गर्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए । अध्यक्ष राईले भने,‘ कोभिड–१९ लक्षित गरेर हामीले अस्थायी अस्पताल निर्माण गर्न सफल भएका छौँ, हाम्रा स्थानीय जनताको अन्य आवश्यक सेवा सुविधा विस्तारका लागि स्वाथ्य, शिक्षा, यातयात खानेपानी लगाएतको क्षेत्रमा समेत काम गरिरहेका छौँ, यसले जनतालाई प्रत्यक्ष लाभ पुग्नेछ ।’
अस्पताल निर्माणले कोभिडका विरामीसँगै गर्भवती महिला, वालवालिका, बृद्धा बृद्धालाई समेत सहजता भएको गाउँपालिका उपध्यक्ष सम्झना राईले बताईन । उपाध्यक्ष राईले भनिन्,‘ गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा धेरै काम गरिरहेको छ, विषेश गरेर विगतका दिनमा भएको लकडाउनको समयमा समेत हामीले सुत्केरी, गर्भवती, वृद्धवृद्धा लगाएतमा मानिसहरुको स्वाथ्यलाई ध्यानमा राख्दै गाउँपालिकाको लगानी औषधी खरिद गरेर वितरण गरिरहेका छौँ भने महिलाहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै विभिन्न समयमा शिविर समेत सञ्चालन गरिरहेका छौँ ।’
अस्पतालबाट स्थानीयले भिडियो एक्सरे, रगत जाँच, ल्याब लगाएत जिल्ला अस्पतालबाट पाउने सुविधा पाउने जनाइएको छ । त्यस्तै सवै बेडमा अक्सिजन रहेको अस्पतालका डाक्टर कैलाश विश्कर्माले जानकारी दिए । अस्पतालमा मेडिकल अफिसर सहितको टोलीले स्थानीयलाई सेवा प्रदान गर्ने उनको भनाइ छ । अस्पताल निर्माणले कोभिडका विरामीलाई उपचारमा थप सहज हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । स्थानीय तहहरुको अगुवाईमा भईरहेको यो काम धेरै राम्रो रहेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । प्रजिअ पुरीले भने ,‘अस्पतालमा अक्सिजन लगाएत आवश्यक सुविधा नहँुदा कोभिडका धेरै मानिसहरुलाई उपचारमा समस्या छ, गाउँपालिका स्तरमा यस्ता अस्पताल निर्माण हुनुले हामीलाई व्यवस्थापनमा सहजता थपिएको छ ।’ जिल्लाका अन्य स्थानीय तहहरुले पनि कोभिड अस्पताल निर्माणको लागि काम गरिरहेको बताएका छन् । यसरी कोभिडको लागि लक्षित गरेर छुटै अस्पताल निर्माण हुँदा उपचारमा थप सहजता हुने जानकारहरुले बताउने गरेका छन् ।

























