पौवादुङमा गाउँपालिकामा घुम्ती शिविरबाट १०४ जनाले पाए अपाङ्गता परिचय पत्र


भोजपुर, ३ कातिक । भोजपुरको पौवादुङमा गाउँपालिकामा घुम्ती शिविर मार्फत १०४ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । शारिरिक रुपमा असक्त नागरिकलाई गाउँ, टोल स्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको सवै वडामा सञ्चालन गरिएको शिविर मार्फत १०४ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमाफर्त ‘क’ वर्गका १२, ‘ख’ वर्गका २२, ‘ग’ वर्गका ३९ र ‘घ’ वर्गका ३१ जनालाई परिचय पत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन् । उपाध्यक्ष राईले भनिन ‘ आफ्ना नागरिकलाई उहाँहरुलाई सहज हुने स्थानमा गएर सेवा दिने लक्ष्यका साथ हामीले अभियान सञ्चालन गरेका हौँ, अभियान अन्तर्गत १०४ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेका छौँ ।’’ परिचय पत्र नभएका कारण राज्यले प्रदान गर्ने सेवा सुविधाबाट कोहि नागरिक बन्चित नबनुन भनेर सबै वडामा अभियान सञ्चालन गरेको उपाध्यक्ष राईले जानकारी दिइन् । ‘कतिपय नागरिकहरु अपाङ्गता परिचय पत्र नहुँदा राज्यले दिएको सेवा लिनबाट समेत बन्चित हुनुहुन्थ्यो, उहाँहरुलाई कार्यालय सम्म आउनलाई पनि धेरै समस्या हुने भएकोले हामीले स्थानीय स्तरसम्म पुगेर परिचय पत्र वितरण गरेका हौँ ।’ उपाध्यक्ष राईले भनिन् ।

गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य, शिक्षा, लगाएत पक्षमा समेत काम गरिरहेको गाउँपालिकाले जनाएको छ । यस अघिका दिनमा जिल्ला प्रशासन कार्यालयसंगको सहकार्यमा घुम्ती शिविर मार्फत नागरिकता समेत वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । अध्यक्ष राईले भने,‘ हामीले नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यका साथ विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छौँ, भर्खरै अपाङ्गता परिचय पत्र वितरणको अभियान सम्पन्न भयो, यसले स्थानीय सरकारले नागरिकको सम्वन्धलाई थप सुमधुर बनाउन सहयोग गरेको छ ।’

आफ्नै गाउँघरमा राज्यको सेवा लिन पाउदा स्थानिय खुसी भएका छन् । गाउँपालिकाका प्रत्येक वडालाई केन्द्र बनाएर परिचय पत्र वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार