
भोजपुर, १६ भदौ । नेपाल पत्रकार महासंघ भोजपुर शाखामा पत्रकार कल्याण कोषको स्थापना गरिएको छ । क्रियाशिल पत्रकारको हितको लागि कल्याण कोषको स्थापना गरिएको हो । सगरमाथा टेलिभिजनका भोजपुर जिल्ला प्रतिनिधी मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ भोजपुर शाखाद्धारा सञ्चालित उक्त कल्याण कोषको थालनीका लागि रु ५०२५ सहयोग गरेका हुन् ।
जन्मदिनमा गरिने विभिन्न पार्टी, भोजमा फिजुल खर्च गर्नुभन्दा पत्रकारकै हितमा आफुले सकेको सहयोग गरेको तामाङले बताए । तामाङले भने, ‘मेरो सानो प्रयासले सुरु भएको सहयोगले अरुको समेत मन कमलो हुनेछ । यसले पत्रकारहरुको लागि साथ र सहयोग मिलोस् भन्ने मनोकांक्षा हो ।’
यता नेपाल पत्रकार महासंघ भोजपुरका कार्यावाहक अध्यक्ष एक्सन राई पनि सोहि कोषमा १० हजार रकम जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकारहरुलाई आईपर्ने जुनसुकै नाजुक परिस्थितीमा कोषको केहि योगदान रहने भएकाले उक्त कोषलाई बढाउदै लैजाने कार्यावाहक अध्यक्ष राईले बताए । राईले भने ‘कोष सञ्चालनको लागि आवश्यक कार्यविधी बनाएर स्थायीत्व दिनेछौ ।’




















