भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिनका लागि सिल, होटल,रेष्टुरेन्ट बन्द गर्ने निर्णय


भोजपुर, ८ भदौ ।

भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनको लागि सिल गरिएको छ । कारोना भाइरस (कोभिड –१९) को संक्रमणको जोखिम न्यूनिकरणका लागि सोमबार बसेको सरोकारवाला पक्षको बैठकले सम्पूर्ण नाका सिल गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले होल्डिङ्ग सेन्टर  व्यवस्थापन तथा लेगुवाघाटमा हेल्पडेक्स सञ्चालनलाई निरन्तरता दिनको लागि भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाबाट रु. १४ लाख र सात ओटा गाउँपालिकाबाट रु. पाँच लाखका दरले रु. ३५ लाख गरी जम्मा  रु.४४ लाख रकम संकलन गर्ने निर्णय समेत गरेको छ । ती स्थानीय तहले पहिलो किस्ता स्वरुप ४० प्रतिशत रकम तत्काल उपलव्ध गराउने निर्णय भएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

बैठकले पीसीआर मेसिन स्थापना गर्न धनकुटा जिल्लासँग समन्वय गरी साझेदारीमा धनकुटामा स्थापना गर्ने सम्बन्धमा आवश्यक समन्वय गर्न भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेको संयोजकत्वमा पाँच सदस्य समिति र जिल्ला अस्पतालमा आइसीयू स्थापना गर्न प्रदेश मन्त्रालयसँग समन्वय गरी कार्य प्रारम्भ गर्न आवश्यक पहल गर्ने गरी जिल्ला समन्य समिति प्रमुख लक्षमण खड्काको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ ।

बैठकले भोजपुर देउरालीमा रहेको क्वारेन्टिन स्थलमा २० बेड, पर्यटन सूचना केन्द्र टक्सारमा १६ बेड, जिल्ला अस्पतालमा १० बेड र अस्पतालको कुरुवा घरमा १४ बेड क्षमताको आइसोलेशन वार्ड बनाउने तथा प्रत्येक स्थानीय तहका स्वास्थ्य केन्द्रमा पाँच ओटा अक्सिजन सिलिण्डर सहितको उपचार व्यवस्था मिलाउने निर्णय गरेको छ ।

जिल्लाभर सञ्चालनमा रहेका साना ठुला सबै होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनहरुलार्ई नाकामा निर्मलिकरण गर्ने, निर्मलीकरणमा लागेको खर्च उद्योग वाणिज्य संघ भोजपुरले व्यवस्था मिलाउने र मालबाहक साधनमा यात्रु ओसार्ने कार्य गरेमा त्यस्तो सवारी साधनलाई यात्रु सहित फिर्ता पठाउने लगाएत निर्णय गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार