
भोजपुर, १४ वैशाख । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनु पर्ने अवस्था नरहेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै राईले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गरेका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिकाको कोरोना संक्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भने,‘प्रदेश सरकारको तयारी राम्रो छ, हामीले आत्तिनु पर्ने अवस्था छैन, हामीले शुरुमा नै सम्भावित परिस्थितिको आकलन गरेर राम्रो तयारी गर्न सकेको कारण अहिले देखापरेको संक्रमण सहजरुपमा सामाना गर्न सकिरहेका छौ ।’ संक्रमितको संख्या बढ्दै गएको भएपनि प्रदेश सरकारले विराटनगरमा १०० बेडको आइसोलेशन अस्पताल तयार गरिसकेको उनले बताए । त्यस्तै राइईले कोरोना रोकथामका लागि उच्च सतर्कताको साथ प्रदेश सरकारले काम गरिरहेको वताए । ‘संक्रमित संख्या बढ्दै भएको भएपनि डराउनु पर्ने अवस्था छैन, प्रदेश सरकार आफैले कोरोना भाइरसको छुटै उपचार गर्न अस्पताल निर्माण गरिसकेको छ, आवश्यक परेमा अन्य ठाउँमा पनि निर्माण गर्ने तयारीमा छ, यस प्रदेशमा उपचारमा कुनै पनि कमि हुने छैन।’
कोरोना देखिएको ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए । ‘ प्रदेश सरकारले स्थानीय तहका राहत वितरण तथा स्वास्थ्य उपकरण खरिद गर्नको लागि बजेट विनियोजन गरेको छ भने अन्य थप समस्या आएमा प्रदेश सरकारले सहयोग गर्छ ।’ उनले भने । उनले राहतको लागि प्रदेश सरकारले रु.नौ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । जुन रकमबाट, महानगरपालिकालाई रु.२० लाख, उपमहानगरपालिकालाई रु.१५ लाख, नगरपालिकाकालाई रु. १० लाख र गाउँपालिकालाई रु. पाँच लाखका दरले विनियोजन भएको समेत जानकारी दिए । प्रदेशमा भएका क्वारेन्टाइनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तथा सुरक्षाकर्मी परिचालन गरी क्वारेन्टाइनको कडा निगरानी गरिने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।त्यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले विश्वव्यापी रुपमै स्वास्थ्य सामग्री अभाव भएको भए पनि प्रदेश १ मा स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरण लगायतको व्यवस्थापन तत्काल गरिने बताए । उनले चिकित्सकको सल्लाह बमोजिम कोरोना नियन्त्रणका लागि प्रदेशका अन्य क्षेत्रमा अस्थायी कोरोना अस्पताल निर्माणका लागि गृहकार्य थालेको जानकारी दिए ।सुरक्षा व्यवस्था तथा जनचेतना मुलक गतिविधि बढाएको भएपनि स्वास्थ्य सामग्री अभावका कारण सहजरुपमा सेवा प्रबाहमा कठिनाई भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराए । साथै उनले लकडाउनका कारण समस्यामा परेका कृषकलाई ध्यानमा राख्दै राहतको कार्यक्रम ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
जिल्लामा कोरोना रोकथामको लागि जिल्लाको भईरहेको काम तथा कामका दौडानमा उत्पन्न भएका समस्याको विषयमा प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी गराए । प्रजिअ पुरीले भोजपुर जिल्लामा तीन महिनालाई पुग्ने खाद्यन्न मौजदात रहेको मुख्यमन्त्री समक्ष जानकारी गराए । गाउँपालिकालाई थर्मगन ४ थान, पीपीई, १० थान, एन –९५ माक्स ५० थान सेनिटाइजर ६० थान, पञ्जा एक जहार थान, भिटिएम र आरडीटी किट १००÷१०० थान लगायतका स्वास्थ्य सामग्री प्रदेश सरकारले उपलब्ध गराएको छ ।




















