मलाई प्रहरीले नियन्त्रणमा लिएको हैन, चरित्र हत्या गर्ने उद्धेश्यले समाचार लेखियो : अध्यक्ष राई


भोजपुर,  ३ बैशाख ।
पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने विषयमा लेखिएको समाचार प्रति गम्भिर ध्यानकर्षण भएको बताएका छन् ।

गाउँपालिकामा विभिन्न नाकाहरुबाट लुकीछिपी गाउँपालिका प्रवेश गरेका तीन जनालाई क्वारेन्टाइनमा राखेको विषयमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोरोना रोकथाम समितिका अध्यक्ष बसन्तराज पुरीसंग बैठक बसेर फर्कने क्रममा प्रहरीले सडकमा हिडडुल गर्न नदिन सञ्चालन गरिरहेको अभियानमा आफूले पनि प्रहरीको नियम अनुसार आम नागरिकको रुपमा सडकमा उभिएर साथ दिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
अध्यक्ष राईले भने,‘ हाम्रो स्थानीय तहमा विभिन्न नाकाबाट लुकीछिपी नागरिक प्रवेश गरेको विषयमा प्रमुख जिल्ला अधिकारीसंग वैठक बसेर फर्कने क्रममा चारभञ्याङमा प्रहरी सञ्चालन गरेको अभियानमा मैले पनि साथ दिएको हो, प्रहरीको नियम अनुसार म त्यहा बसे, तर केहि मिडियाका साथीहरुले पूर्वग्राही तवरबाट गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा भन्ने  समाचार प्रकाशन गरेको प्रति मेरो गम्भिर ध्यानकर्षण भएको छ, मैले प्रहरीको अनुरोधलाई स्वीकार गरेर अभियानमा साथ दिएको हुुँ, यसरी समाचारलाई तोडमोड गर्नु त भएन नी ?’

‘केहि दिन यता गाउँपालिकाबासी नागरिकलाई स्वास्थ्य सेवा दिने लगाएत अन्य विविध विषयमा जिल्ला अस्पतालका डाक्टर र जिल्लाका सरोकारवाला निकायसंग छलफलको लागि आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी  दौडधुप गरिरहेको छु, तर गाउँपालिका अध्यक्षले ‘लकडाउन उलङ्घन’ गरेको भन्दै समाचार बनाउनु भनेको राम्रो होइन, समाचार सत्यतथ्य बुझेर लेख्दा राम्रो, केहि मिडियाकर्मी साथीहरुले मेरो चरित्र हत्या गर्ने  उदेश्यले समाचार बनाएको मैले दँेखे यो कदापी राम्रो होइन ।’ अध्यक्ष राईले भने ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले अध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा नलिएको जानकारी दिए । प्रमुख मगरले भने,‘ हामीले उहाँलाई नियन्त्रणमा लिएको हैन, प्रशासनबाट वैठक बसेर फर्कने क्रममा मास्क नलगाएको विषयमा प्रहरीले सोध्दा गाडीमा छुटेको बताएपछि उहाँ आफै हाम्रो अनुरोधलाई स्वीकार गरेर सामाजिक दुरी कायम गरी बनाइएको सेतोघेरामा बसेर जानु भएको हो, तर नियन्त्रणमा लिएको भन्ने शब्द नै गलत हो ।’
अध्यक्ष राई इलाका प्रहरी कार्यालय तिवारी भञ्याङको गाडीमा आएर बाटैबाट जिल्ला प्रशासन कार्यालयमा बैठकमा बसेको जनाइएको छ । यसै विच गाउँपालिकाले विज्ञप्ती जारी गर्दै उक्त समाचारको खण्डन गरेको छ । समाचारमा आएका भ्रमक कुराको पछि नलाग्न सवैमा अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार