
भोजपुर, २२ फागुन ।
भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीले परियारलाई गत बुधबार राति हातहतियार सहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको हो । परियारको साथबाट बम बनाउन प्रयोग गरिने डेटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद भएको छ ।
साथै परियारको साथबाट पार्टीका केही दस्तावेज समेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।




















