
काठमाडौं, २० फागुन । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजालसले चीन , जापान , दक्षिण कोरिया , बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको छ ।
संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सुक्ष्म मूल्यांकन गर्नसमेत सजग गराइएको छ । ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशीलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ ।
सरकाले पूर्वसावधानीका लागि आवश्यक व्यवस्था मिलाउन नसकेको दाबीसहित अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका थिए । सर्वोच्चले स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरु ९विदेशी समेत ० को कडाइका साथ स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ । अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।




















