
भोजपुर,१९ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक विद्यार्थीहरुलाई न्यानोकपडा वितरण अभियानको थालनी गरेको छ । चिसोको कारण विद्यार्थीको पठन पाठनमा समस्या भएपछि पहिलो चरणमा गाउँपालिकाको माथिल्लो भेगमा पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । आइतबारबाट शुरु भएको न्यानो कपडा वितरण कार्यक्रम अन्र्तगत पौवादुङमा–१ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयका ४६२ जना र तिवारीभञ्याङ माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
अभियान अन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालय, मानेडाँडा माध्यमिक विद्यालय, जनकल्याण आधारभुत विद्यालय, महालक्ष्मी आधारभुत विद्यालय लगाएत अन्य ७ ओटा विद्यालयमा पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
न्यानोकपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि विभिन्न योजनाहरु सञ्चालन भईरहेको जानकारी दिए । यसअघि पनि विद्यार्थीहरुको लागि दिवा खाजा व्यवस्था गरिसकेको समेत बताए । अध्यक्ष राईले भने‘ जाडोका कारण यहाँका विद्यार्थीहरु प्रभावित छन्, जसको कारण पठनपाठनमा धेरै समस्या छ, यसको समाधानको लागि न्यानो कपडा वितरण गरेका हौ, यस अघि दिवाखाजाको कार्यक्रम शुरु गरिसकेका छौ ।’
यस्ताखालका कार्यक्रमले विद्यालयलाई नियमित विद्यालय आउने वातावरण तयार हुने उनको भनाइ छ ।‘ विपन्न परिवारका धेरै विद्यार्थी अझैपनि जाडोको कारण विद्यालयमा आउन छाडेको अवस्था छ, त्यसको निराकरणको लागि यो कार्यक्रम हो, अर्को आर्थिक वर्षभित्र गाउँपालिकाका सबै ३२ ओटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्छौ ।’ अध्यक्ष राईले भने ।
गाउँपालिका उपाध्यक्ष सम्झना राईले नीति तथा कार्यक्रम अनुसार कार्यक्रमको थालनी गरेको बताइन् । यस अभियानले विद्यार्थीलाई नियमित विद्यालयमा आउने वातावरण वन्ने उनको भनाइ छ । उपाध्यक्ष राईले भनिन्‘ डाटा हेर्दा चिसोको कारण करिव ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआएको पाइयो, तर अव यो कार्यक्रमले उपस्थितिमा बृद्धि हुने आशा गरेको छौ ।’
विद्यालयका प्रधानाध्यपक तीर्थप्रसाद खनालले गाउँपालिकाले कपडा वितरण गरेसंगै पठनपाठनमा सहजता भएको प्रतिक्रिया दिए । खनालले भने‘ जाँडोमा आगो बालेर विद्यार्थीलाई पठनपाठन गरिरहेका थियौ, अव त्यस समस्याको अन्त्य भयो, पक्कैपनि शैक्षिक गुणस्तरमा सुधार हुन्छ ।’






















