
भोजपुर २४ मंसिर ।
आगलागी तथा वन,जंगल डढेलो नियन्त्रण सम्बन्धी “अभ्यास संयुक्त प्रयास १ ” को प्रदर्शनी गरिएको छ । सोमबार भोजपुरको स्थानीय टुडिखेलमा नमुना घर र जंगल बनाएर आगलागी तथा जंगल डढेलो नियन्त्रण सम्बन्धी अभ्यास गरिएको हो । फष्ट रैफल गण भोजपुरको पहल तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय, भोजपुर नगरपालिका, डिभिजन वन कार्यालय, रेडक्रस तथा विभिन्न सरोकारवाला निकायहरुको सहंयोगमा सो अभ्यास गरिएको हो । नमुना घर बनाएर उपकरणको प्रयोग संगै, निभाउने तरिका, सुरक्षित हुने विधि, उद्धार तथा राहत वितरण र घाइतेको प्राथामिक उपचारको विषयमा जानकारी गराइएको हो । विपद्को बेलामा आफु पनि सुरक्षित रहने र अरुलाई पनि सुरक्षित राख्ने विषयमा जानकारी गराएर विपद्को अवस्थामा अरुलाई सहयोग गर्न सकियोस भन्ने उद्धेश्यले प्रदर्शनी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
त्यस्तै सोहि प्रदर्शनी कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको संयोजनमा ग्याँसको सिलिन्डरमा लाग्ने आगोलाई घराएसी तरिकाबाट कसरी नियन्त्रण गर्ने भन्ने विधिको विषयमा पनि जानकारी गराइएको छ । त्यस्तै आगो नियन्त्रण गर्न प्रयोग गरीने उपकरण अग्नी संम्यन्त्रको प्रयोगको विषयमा पनि जानकारी गराइएको छ । त्यसै गरी जिल्लामा भएका विपद व्यवस्थापनका सामाग्री र रेडक्रसद्धारा प्राथामिक उपचारको विषयमा स्टल राखिएको थियो ।




















