
भोजपुर,२१ मंसिर ।
भोजपुर–टक्सार सडक कालोपत्रेको कामले तिव्रता पाएको छ । विकास निर्माणका कामहरु समयमा नसकिने प्रथा बढ्दै भएको बेला यो काम भने समयमा सकिने आशा बढेको हो । शुरवात भएको सात महिनामा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएकोछ ।
धेरै योजनाहरु वर्षौ सम्म पनि अलपत्र बनिरहेका उदाहरण पनि धेरै छन् । तर भोजपुर सदरमुकामबाट टक्सार विमान स्थल सम्मको सडक कालोपत्रेको काम १८ महिनामा काम सक्नु पर्ने सम्झौता भए पनि सुरुभएको ७ महिनामै ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । अहिले बाटो चौडा गर्ने, रिटनिङवाल लगाउने, नाली बनाउने, सर्फेस मिलाउने लगाएको काम सकिसकेको छ ।
अव ग्राभेल गर्ने र सडक पिचगर्ने काम मात्र बाँकी रहेकाले विचमा कुनै अवरोध नआएमा समयमा सक्ने तयारी रहेकोछ । पूर्वाधार विकास कार्यालय भोजपरका प्रमुख राजनराज रेड्डी राजनराज रेड्डी भने‘ शुरुवाती चरण कामको प्रगती निकै राम्रो छ, हाल सम्म ५० प्रतिशत बढी काम सकिएको छ, यसलाई निर्धारित समय भन्दा अगाडी सक्ने तयारीका साथ काम गरिरहेको छौ ।’
प्रदेश सरकार अन्र्तगत पूर्वाधार विकास कार्यालय भोजपुरको १३ करोड ५३ लाख ५८ हजार २२७ रुपैयाँ लागतमा ५ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको हो । निर्माणको काम ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीले गरिरहेको छ । सडकलाई गुणस्तरिय बनाउन निर्माण स्थलमै ईन्जिनियर खटाइएको छ । यसले कामलाई गुणस्तरिय बनाउन सहज हुने जनाइएकोछ । ईन्जीनियर आशिस न्यौपाने भने ‘कामलाई गुणस्तरिय ढंगले सम्पन्न गर्न हामी लागि परेका छौ, सवै तवरबाट गुणस्तरिय सडक बन्छ ।’
भोजपुरको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकाम सम्म आवत जावतसंग जोडिएको सडक कच्ची हुँदा निकै सास्ती हुँदै आएको छ । सडक कालोपत्रे हुने भएपछि स्थानीयमा उत्साह त बढेको छ, तर कामलाई गुणस्तरिय ढंगले समयमा सम्पन्न गराउन सरोकारवाला पक्षले पनि ध्यान दिन स्थानीयले आग्रह गरेका छन् । सडक कालोपत्रेको शिलन्यास प्रदेश – १ का मुख्यमन्त्री शेरधन राईले गत वैशाख महिनामा गरेका थिए ।




















