भिडियो सहित – आगजनीसंगै पशुचौपाया काटिएपछि स्थानीय त्रसित, सरोकारवाला पक्षद्धारा घटना स्थलको अनुगमन


भोजपुर,१२ मङसिर।
भोजपुरको पूर्वी क्षेत्रमा पर्ने अरुण गाउँपालिका ६ मा अज्ञात समुहले स्थानीयका बाख्रा काट्दै गाईगोठमा आगजनी गरेपछि स्थानीय आतंकित बनेका छन् । केहि समय अगाडी स्थानीयको गोठमा वाँधिएका सात ओटा वाख्रा काटिएसंगै गाईवस्तु वाँधिएको गोठमा समेत रहस्यमय ढंगले आगलागी भएपछि स्थानीयमा त्रास बढेको हो । अज्ञात समूहले गत कात्तिक २५ गते सोही स्थानमा पर्ने खर्काउने टोलका तीन परिवारका सात ओटा बाख्रा काटिदिएका थिए ।
त्यस्तै सो घटना सेलाउन नपाउदै उनिहरुले नै गाईगोठमा आगो लगाएको स्थानीयको दावी छ । अरुण गाउँपालिका ६ सिमटारका स्थानीय धनकृष्ण राईको गोठमा मध्येरातमा आगो लगाएको स्थानीयको भनाइछ । स्थानीयले जानजान आगो लगाएको तथा त्यही समूहले बाख्रा काटेको भन्दै छानबिनको माग गरेका छन् । स्थानीय अम्वर विश्वकर्माले भने‘ घटनाक्रम हेर्दा नियोजित रुपमा यो घटना घटाइएको छ, यसलाई प्रशासनले गम्भिर रुपमा छानबिन गर्नु पर्यो ।’
गाउँका स्थानीयमा त्रास बढेसंगै संघिय सांसद सुदन किराँती, प्रदेश सभा सांसद राजेन्द्र राई, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरले सो स्थानको अनुगमन गरेका छन् ।

मध्ये रातमा भएको आगलागीबाट दुई ओटा गोरु मरेका थिए भने, अन्य दुई ओटा गोरु डढेर गम्भिर घाइते भएका छन् । आगलागीबाट रु. पाँच लाख ५० हजार बरावरको क्षति भएको प्रहरीको तथ्याङकले देखाएको छ । प्रहरीले बाख्रा काटेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ, भने आगलागीको विषयमा भने अनुसन्धान भईरहेको प्रहरीको भनाइछ । स्थलगत अनुगमनका लागि पुगेका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले दुई घटनाको विषयमा अनुसन्धान भइरहेको बताउदै स्थानीयलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । प्रजिअ खतिवडाले भने ‘यो घटनाको विषयमा हामी गम्भिर छौ, यो घटना नियोजित होस् या भवितव्य त्यसको हामी अनुसन्धान गर्छौ, जसको लागि तपाईहरुले पनि सहयोग गर्नु पर्यो ।’
अनुगमनका लागि घटना स्थल पुगेका संघिय सांसद सुदन किराँतीले अमानविय कार्य भएको प्रतिक्रिया दिए । साथै उनले घटनाको विषयमा सत्यतथ्य छानविन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए । सांसद किराँतीले भने‘ यो घटना अत्यन्तै अमानविय छ, यसले स्थानीयमा त्रास बढेको छ, स्थानीयको कुरा सुन्दा र घटनाक्रमलाई हेर्दा घटना नियोजित जस्तो देखिएको छ, छानबिनको लागि मैलै निर्देशन दिएको छु ।’

गाउँपालिका अध्यक्ष गजेन्द्र वहादुर कार्कीले घटनाका पीडितलाई गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार सहयोग गर्ने बताए । साथै उनले छानमिन गर्न आग्रह समेत गरे । अध्यक्ष कार्कीले भने ‘ हामीले पीडितहरुलाई सहयोग गर्न भनेका छौ, उहाँहरुको निवेदन आएपछि हाम्रो नीति तथा कार्यक्रमहरु अनुसार सहयोग गर्छौ ।’
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले दुवै घटनाको गहिरो अनुसन्धान भईरहेको बताउदै सो क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाएको जानकारी दिए । आवश्यक प्रमाण जुटाउन घटनाको विषयमा गोप्यरुपमा जानकारी दिन स्थानीयलाई आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार