
भोजपुर, १८ असोज ।
कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका -१० भैसीपंखा जीमीगाउँबाट स्थानीय ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई पक्राउ गरेको छ ।
छिमेकी बाथका विरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाईका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विना कारण मादक पदार्थ सेवन गरि श्रीकृष्णले कुटपिट गरि घाइते बनाएको प्रहरीले जनाएको छ । आर्थिक अवस्था समेत कमजोर रहेका वलवहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले फकाएर,एक वोतल रक्सी किनेर एक आपसमा मिलापत्र गरेको तर बलवहादुरको शुक्रवार घरमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
श्रीकृष्णले अनुहारको भागसंगै बाँया आँखाको डिलमा मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरमै झारफुक गराएको तर घटनाको विषयमा तत्काल कुनै पनि निकायमा उजुरी नदिएको प्रहरीको भनाई छ । मृतक राई माथी बुधबार कुटपिट भएको प्रहरीले जनाएको छ । श्रीकृष्णलाई पक्राउ गरेपछि प्रहरीले घटनाको विषयमा शनिबार जानकारी दिएको हो ।




















