पार्कीङस्थल बनाउन मेयर बाधक


बारा । जितपुरसिमरा उपमहानगरपालिका नगर प्रमुखको वेवास्ताले पूर्व पश्चिम राजमार्गस्थित बाराका प्रमुख बजारहरु पथलैया, सिमरा र जितपुरमा पार्किङस्थल बन्न सकेको छैन । स्थानीय नागरिक, व्यापारी र वडाका जनप्रतिनिधिले जति प्रयास गरेपनि नगर प्रमुखको उपेक्षाले पार्किङस्थल बन्न नसक्दा समस्या भएको बताएका हुन् । उनीहरुले सरकारले जितपुरसिमरा मेघा सिटीको अध्ययन थाल्न सुरु गरेपनि उपमहानगरले चाहिँ राजमार्गमा पार्किङस्थलाई व्यवस्थित बनाउन चासो नदिदा समस्या भएको बताए । उनीहरुले सार्वजनिक स्थान र सरकारी खाली जग्गाहरुमा पार्किङस्थल बनाउन पहल थालेपनि प्रमुखले चासो नराख्दा काम नभएको बताएका हुन् । प्रमुखले मातहतका निकायसँग समन्वय गरी काम नबढाएको पथलैयाका व्यापारी गोपाल लामा बताउँछन् । “राम्रो काममा त प्रमुखको साथ सहयोग हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन,” लामाले भने ।वडा नम्बर १ का वडाध्यक्ष हिराबहादुर गुरुङले पथलैया बजारभन्दा दुईसय मिटर उत्तर विद्युत प्राधिकरणको खाली जग्गालाई पार्किङस्थल बनाउन प्रमुख डा। कृष्ण पौडेलले चासो नदिएको बताए । सहरी सौन्दर्य जोगाउन र जोखिम नियन्त्रण गर्न पार्किङस्थल निर्माणको लागि पटकपटक नगर प्रमुखलाई अनुरोध गरेपनि सुनुवाइ हुन नसकेको उनले बताए । वडा नम्बर १ कै सदस्य रामदास धौजु पनि नगर प्रमुखको वेवास्ताले पार्किङस्थल बन्न नसकेको बताउँछन् । भन्छन्, “पार्किङ व्यवस्थित बनाउन उपमहानगरको कुनै योजना र चासो छैन । नगर प्रमुखले सक्रियता नदेखाउँदा पथलैया बजार सडक दुर्घटनाको जोखिममा परेको छ ।”

उपमहानगर प्रमुख पौडेलले तीन महिनाअघि अस्तव्यस्त पथलैयाको पार्किङस्थलको बिषयमा नगरका सबै कार्यालय प्रमुख र जनप्रतिनिधिहरुको बैठक बसेपनि कुनै निर्णय लिन नसकेको बताए । “तर, त्यसयता पार्किङस्थलको छलफल विषयमा केही पहल भएको छैन,” उनले भने । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख योगबहादुर पालले पनि स्थानीय क्षेत्रको पार्किङ व्यवस्थापन गर्न उपमहानगरलाई अनुरोध गरेपनि गम्भीरतापूर्वक नलिएको बताउँछन् । “हामीले मेयर सापलाई भनेर थाकिसक्यौं,” पालले भने, “उहाँले पहल गर्नुप¥यो, नत्र अस्तव्यस्त पार्किङले झनै समस्या बढाउने देखिन्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार