
भोजपुर,११ साउन ।
जिल्ला समन्वय समिति भोजपुरले पहिरोबाट ज्यान गुमाएका तीन परिवारलाई राहत वितरण गरेको छ । समन्वय समिति प्रमुख लक्ष्मण खड्का , उप–प्रमुख अनिशा खड्का तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवा सुविधा कटाएर मृतकका परिवारलाई राहत हस्तान्तरण गरेको समिति सदस्य सबिना राईले जानकारी दिइन् ।
उनिहरुले संकलन गरेको रु ७७ हजार ९४० रुपैंया प्रति मृतक १५ हजार ५८८ रुपैंयाका दरले आज वितरण गरिएको छ । सेवा सुविधा वापत समन्वय समिति प्रमुखबाट रु १७ हजार, उप–प्रमुखबाट रु.१२ हजार ५०० र प्रति सदस्य रु. ६ हजार ९२० रुपैंयाका दरले संकलन गरी एकै परिवारका तीन सहित पाँच जना मृतकका परिवारलाई राहत रकम वितरण गरेको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले जानकारी दिए ।
पहिरोमा परि गत असार २८ गते टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -९ लेखर्क ओइराङका १४ वर्षीय बालक जनक विक, रामप्रसाद राई गाउँपालिका वडा नम्बर –७ बासीखोराका ६६ वर्षिय जगतबहादुर राई र रामप्रसाद राई गाउँँपालिका वडा नम्बर– ५ मानेभञ्ज्याङका स्थानीय कुमार राइकी ३५ वर्षीय श्रीमती मन कुमारी राई १७ वर्षीय छोरा शिव कुमार राई १५ वर्षीय छोरा शक्ति कुमार राईको ज्यान गएको थियो ।






















