
भोजपुर ३ असार ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले डिप बोरिङ्ग मार्फत पानी निकालेको छ । गाउँपालिकाले डाँडामा एक सय १० मिटर डिप वोरिङ गरेर पानी निकालेपछि पिउने पानी पाउने आशामा स्थानीय हर्षित भएका छन् । पौवालदुङमा गाउँपालिकाले स्थानीयको पानीको समस्या समाधान गर्न करिव ३९ लाख लागतमा डिप वोरिङ गरेर पानी निकालेको हो ।
पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार भएको अवस्थामा गाउँपालिकाले पहिलो पटक यस्तो प्रविधिबाट पानी निकालेपछि स्थानीय दंग परेका हुन् । पानीको जोह गर्नमा चार घण्टा हिड्नु पर्ने अबस्था अन्त्य हुने भएपछि स्थानीय खुसी भएका छन् । झापाको मेची कन्ट्रक्सनसंगको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ३ च्याङग्रे वडा नम्वर ४ वास्तीमको सीमानामा रहेको चाम्ताङ्ग भन्ने स्थानमा ८ दिन लगाएर पानी निकाले हो ।अव त्यो पानीलाई पुनः एक सय मिटर माथी लगेर ट्याङ्की निर्माण गरि पानी वितरण गर्ने गाउँपालिकाले जनाएको छ । अन्य दुई ओटा ठुला खानेपानी आयोजनाको पनि काम भईरहेको पौवादुङमा गाउँपालिका उपाध्यक्ष सम्झना राई बताईन ।
गाउँपालिकामा पानीको समस्या समाधानका लागि एक घरमा एक धारा पु¥याउने लक्ष्यका साथ काम थालिएको गाउँपालिकाले जनाएको छ । यसले पानीको अत्यन्तै समस्या रहेको सुख्खाग्रस्थ क्षेत्रका नागरिकलाई राहत पुग्ने छ । अव पाइप लाइन विस्तार गरेर तुरुन्तै वस्तीमा पानी वितरण थाल्ने गाउँपालिका अध्यक्ष किरण राइको भनाई छ ।





















