चम्पादेवीमा भेटियो बेवारिशे शवः हत्याको आशंका


ओखलढुंगा, २४ जेठ । चम्पादेवी गाउँपालिका–२ को ओदेखोलामा एक जनाको शव फेला परेको छ ।

शव भिरमुनीको खोल्सामा फेला परेको हत्या गरेर फालिएको हुन सक्ने अनुमान गरिएको छ । फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्धबहादुर थापाको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

थापाको बुधबार राति भिरबाट लडेर मृत्यु भएको बताइए पनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले बताए ।

थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा भेटिएका छन् । उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । भिरबाट दुवै जना लडेको भनिए पनि एउटाको मृत्यु हुनु र अर्को सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको स्थानीयको दावी छ । मृतक रुद्धबहादुर थापा र घाइते दिपक बुढाथोकी नाताले मामा भान्जा हुन् ।

रातको समयमा नदी किनारबाट टर्च बालेर केही मानिसहरुले लखेटेपछि भाग्ने क्रममा चम्पादेवी–२को ओदेखोला भिरबाट दुवैजना लडेको घाइते दीपक बुढाथोकीले बताए । दुवै जना भिरबाट लडेकोमा मामाको मृत्यु भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार