
काभ्रेका दुई स्थानीय तहमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली जोडिएको छैन । खानीखोला र महाभारत गाउँपालिका अझै बिजुलीविहीन अवस्थामा छन् । जिल्लाका ६ नगरपालिका र सात गाउँपालिकामध्ये दुई गाउँपालिकामा बिजुली बत्ती नपुगेको हो ।खानीखोला र महाभारतका कतिपय स्थानीयले लघु जलविद्युत्बाट बत्ती बाल्दै आए पनि बहुसंख्यक नागरिक बिजुलीको उज्यालोबाट वञ्चित छन् । लघु जलविद्युत् आयोजनाको बिजुली केन्द्रीय प्रसारण लाइनजस्तो नहुने खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले बताए ।
‘लघुविद्युत् आयोजनाको बिजुलीबाट उद्योग, कलकारखाना सञ्चालन हुँदैन । भोल्टेज पनि राम्रो नहुने समस्या छ ।’ लघु विद्युत् आयोजनामा वर्षेनी चट्याङले क्षति गर्दै आएको छ । खानीखोला गाउँपालिकामा तीनवटा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । तर, कुनै पनि आयोजनाबाट उद्योग कारखाना सञ्चालन गर्न विद्युत् उत्पादन हुँदैन ।
केन्द्रीय प्रसारण लाइन जोड्ने तयारी
गाउँमा उद्योगधन्दा सञ्चालनका लागि राष्ट्रिय प्रसारण लाइन जोड्ने तयारी भइरहेको प्रवक्ता गोलेले बताए । केन्द्रीय प्रसारण लाइन जोड्नका लागि टेन्डरसमेत भइसकेको छ । ‘केन्द्रीय प्रसारण लाइन जोड्नका लागि गाउँपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ,’ गोलेले भने, ‘असारसम्ममा गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्ने तयारी गरेका छौँ ।’





















