घडीघर बचाउन हस्ताक्षर अभियान


राजधानी काठमाडौंको असनचोकमा रहेको पुरातात्त्विक र ऐतिहासिक महत्त्वको घडीघर बचाउन हस्ताक्षर संकलन अभियान चलाइएको छ। गुठी संस्थानले पुरातात्त्विक र ऐतिहासिक महत्त्वको असनकोठी अर्थात् घडीघर भत्काई अत्याधुनिक व्यवसायिक भवन निर्माणका लागि सहकारी संस्थालाई दिने सम्झौता गरेपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन्।

गुठी संस्थान अन्तर्गत रहेको सो घडीघरमा १४ परिवार बस्दै आएका छन्। तीनमा पुर्खा पनि सोही घरमा बसेका थिए। अहिले ११ परिवारले सो घडीघरमा पसल पनि सञ्चालन गरेका छन् भने ३ परिवारले बसोबासको रूपमा मात्रै प्रयोग गर्दै आएका छन्।

२०७० साल फागुन ८ गते बालतिरुन्जेल सन्तान दरसन्तानले भोगचलन गर्न पाउने गरी आफूहरूसँग करार सम्झौता गरेको गुठी संस्थानले थाहै नदिई व्यवसायिक प्रयोगजनको भवन निर्माणका लागि श्री बज्रयोगिनी बहुउेश्यीय सरकारी संस्थालाई २५ वर्षका लागि दिने सम्झौता गरेपछि आफूहरू आन्दोलनमा उत्रिएको सञ्जिव बज्राचार्यले बताए।

घडीघरको भूइँतलामा अमिताभ बुद्धको मूर्ति रहेको छ। हरेक वर्ष पञ्चदानको अघिल्लो दिन सो स्थानमा होम, यज्ञ गरेर भोज खाई पञ्चदानको दिन शाक्यमुनि बज्राचार्यहरूलाई भिक्षा दिने काम हुँदै आएको छ।

पुरातत्व विभागले अमिताभ बुद्धको मूर्ति ५ सय वर्ष पुरानो भएको प्रमाणित गरिसकेकाले विभागको स्वीकृतिविना गुठी संस्थानले ऐतिहासिक महत्त्वको भवन भत्काउन नपाउने दाबी स्थानीयवासीले गरेका छन्।

त्यसैगरी उनीहरू अहिले घडीघर बचाउन हस्ताक्षर संकलनमा जुटेका हुन् । घडीबरवासी र अनसनका स्थानीयले गुठी संस्थानको निर्णयविरूद्ध असनमा विरोध सभा गर्दै आएका छन्। उनीहरूले कुनै पनि अवस्थामा ऐतिहासिक महत्त्वको घडीघर भत्काउन नदिने भन्दै प्रतिकारमा उत्रने चेतावनी दिँदै आएका छन्। घडीघरवासीले विक्रम सम्वत १८८५ र १९९० सालमा घर भत्किँदा गुठी संस्थानले ‘तिमीहरू नै बस्ने हो आफैं मर्मत गर’ भनेकाले आफूहरूले नै मर्मत गरेर बस्दै आएको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार