सहकारीको २६ करोड हिनामिना गरी कर्मचारी बेपत्ता


नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको २६ करोड हिनामिना गरी तीन कर्मचारी फरार भएका छन्। रकम हिनामिना गरि कर्मचारी फरार भएपछि आफ्नो रकम माग गर्दै वचतकर्ताले आइतबार सहकारी र जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेका छन्।

वचतकर्ताको उजुरी पछि सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीलाई प्रहरीले सोधपुछका लागि कार्यालयमा बोलाएको छ। समस्या समाधान गर्ने मेरो पनि दायित्व भएको बताउँदै उनले सोधपुछका लागि प्रहरीले बोलाएको बताए। सहकारीले यसअघि नै रकम अनियमितताको विषयमा छानविन समिति गठन गरेको थियो।

सो समितिले दिएको प्रतिवेदनअनुसार प्रबन्धक अरुणकुमार पाठकले २२ करोड, नायव प्रवन्धक गंगाधर सुवेदीले तीन करोड, खजुरा शाखा प्रमुख सूर्यकुमार विकले ६४ लाख र बैजापुर शाखा प्रमुख लीलाधर ओलीले ४४ लाख रुपैयाँ हिनामिना गरेको समितिको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन सहकारीले ताकेता गरेपछि रकम हिनामिना गरेको आरोप लागेका कर्मचारीले एक वर्षभित्र रकम बुझाउने कागज गरेका थिए।

उनीहरूले १६ बैशाखमा रकम तिर्न मञ्जुर भएको कागज समेत गरेको अध्यक्ष चौधरीले बताए। ती मध्ये प्रवन्धक पाठक र बैजापुर शाखा प्रमुख लिलाधर ५ जेठदेखि र नायव प्रबन्धक सुवेदी ११ जेठदेखि सम्पर्कविहीन भएको अध्यक्ष चौधरीले जानकारी दिए। रकम हिनामिना गरेको आरोप लागेका सूर्यकुमार विक भने सम्पर्कमा रहेको सहकारीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार