
बैशाख । संखुवासभा, माननीय सदस्यहरू, सम्माननीय सभामुख भनेर एक जना मर्यादापालकले संसद बैठकमा सभामुखको आगमन भएको जानकारी गराए ।जानकारी गराए लगत्तै दौरा सुरुवाल र टोपी लगाएका एक युवा सभामुख र अर्का एक जना महासचिवको परिचयपत्र लगाएका व्यक्ति हलमा प्रवेश गरे ।
उनीहरू हल प्रवेश गरेपछि सभाहलमा बसिरहेका सबै जना ज¥याक जुरुक्क उठे । राष्ट्रिय गानको धुन बज्यो । त्यसपछि सभामुखले बैठक सुरुवात गरे । सभामुखले ६ सांसदलाई शून्य समयको ११ मिनेट समय दिए । शून्य समयको सदुपयोग गर्दै सांसद प्रतीभा राईले अहिले नेपालमा २५ प्रतिशतले मात्र रोजगारी पाएकाले बाँकी जनताका लागि के कस्ता रोजगारीका नीति तथा कार्यक्रम यो सरकारले ल्याएको छ भन्दै सभामुख मार्फत प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।
त्यस्तै अर्का सांसद निमा शर्पाले नगर क्षेत्रभित्र ढल निकास नभएकाले यो ढल ब्यवस्थापनको क्षेत्रमा युवा सरकारले के योजना बनाएको छ रु भन्दै सरकारलाई सभामुखमार्फत ध्यानकर्षण गराउन चाहन्छु भनिन् । शुक्रबार खाँदबारीमा नमुना संसदको अभ्यास गर्दै नमुना युवा सांसदले शून्य समयमा सरकारका काम कारवाही प्रति आआफ्नो धारणा व्यक्त गरे ।
संघीय संसदको झल्को दिने गरी व्यवस्थापिका संसदमा सभामुखले सांसदलाई रुलिङ गरिरहेका थिए । नमुना संसदमा सत्तापक्षले सरकारको समर्थन गरे । प्रतिपक्षीले सरकारको नीति तथा कार्यक्रमको विरोध गरे । प्रतिपक्षीले सांसदले दलित जनजाति पिछडिएको वर्गप्रति कुनै कार्यक्रम नल्याइएको भन्दै संसदमा सरकारको आलोचना गरेका थिए । शून्य समय, मन्त्रीसँग प्रश्नोत्तर, प्रधानमन्त्रीसँग प्रश्नोत्तर र विशेष समयमा उठाइएका प्रश्नको जवाफ मन्त्रीले दिएका थिए ।
नमुना संसदका प्रधानमन्त्री सविना पोख्रेलले सरकार युवाका लागि विशेष तालिम तथा जीवन निर्वाह भत्ता ब्यवस्था गरिएको बताइन् । विद्यार्थीका लागि सुविधा सम्पन्न विद्यालय तथा शौचालय निर्माण गर्न लक्ष्य राखेको बताइकी थिइन् । किसानका लागि विशेष अनुदान र बजारीकरणको व्यवस्था गरेको जानकारी गराइन् । प्राकृतिक विपत्तिमा परेकाहरूका लागि तत्काल सरकारले उद्धार तथा राहतको व्यवस्था मिलाउन मातहतका निकायलाई खटाइएको जानकारी दिइन् ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति प्रज्वल श्रेष्ठले प्रस्तुत गरेका थिए । नमुना संसद अभ्यास जिल्ला युवा समिति र खाँदबारी नगरपालिकाले आयोजना गरेको हो । नमुना संसद भवनमा मर्यादापालक बाहेक अन्य प्रधानमन्त्री, सभामुख र मन्त्रीले सारी चोली र दौरा सुरुवाल लगाएका थिए । अन्य सांसद सबै मौलिक पहिचानका पोशाकमा उपस्थित थिए । नमुना संसदमा नगरका ११ वटै वडाका युवाको उपस्थिति रहेको थियो । बुधबार सुरु भएको संसद शुक्रबार नीति तथा कार्यत्रम पास गर्दै बैठक टुंगिएको थियो ।
३ दिनसम्म चलेको कार्यक्रममा सरकार, संसद र प्रतिपक्षीले खेल्नुपर्ने भूमिकाबारे अभ्यास गरिएको थियो । नमुना संसदमा सर्वसहमतिमा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, गृहमन्त्री र अन्य मन्त्री चयन गरिएको थियो । सभामुखमा एवि तामाङ र राष्ट्रपतिमा प्रज्वल श्रेष्ठ रहेका थिए । गृहमन्त्री दिवस खत्री, अर्थ मन्त्री निरु बुढाथोकी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा गंगा विक, युवा तथा खेलकुद मन्त्री दिवस घिमिरे, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विक्रम गुरुङ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सरिता निरौला चयन भएकी थिइन् । प्रमुख प्रतिपक्षी दलको नेता मुना कुलुङ चुनिएकी थिइन् । नमुना संसदमा २९ जना सदस्यहरू रहेका थिए । त्यस्तै नगर युवा संसदले विजय कार्की र सुस्मिता श्रेष्ठलाई प्रदेश संसदमा नियुक्ति गरेको जानकारी दिएको छ ।





















