प्रतिनिधिसभा सदस्यमा भोजपुरबाट शेरधन राईको एकल नाम सिफारिस


युवराज विष्ट
भोजपुर, २२ पुस ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लाबाट नेकपा (एमाले) का नेता पूर्व मुख्य मन्त्री तथा  एमाले सचिव शेरधन राईको एकल नाम सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकले राईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला कमिटीको बैठकमा पार्टीको संगठन सुदृढीकरण, आगामी निर्वाचन रणनीति तथा उम्मेदवार छनोटबारे व्यापक छलफल भएको थियो । सो क्रममा पार्टीभित्रको एकता, राईको लामो राजनीतिक अनुभव र जिल्लामा रहेको जनआधारलाई मध्यनजर गर्दै उहाँको नाम एकल रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार राईले पार्टी संगठन निर्माणदेखि जनआन्दोलन तथा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँको उम्मेदवारीले आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने विश्वास नेतृत्वले लिएको उहाँले बताउनुभयो ।
एमालेले जिल्लास्तरबाट सिफारिस गरिएका नामलाई प्रदेश र केन्द्रीय तहमा पठाउने प्रक्रिया अघि बढाइसकेको छ । अन्तिम निर्णय भने पार्टीको केन्द्रीय कमिटीले गर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार