
निर्मला पौडेल
सुनसरी, २२ चैत ।
उच्च मनोवल लिएर मेहनतका साथ काम गर्न सके जीवन गुजरा गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ, इटहरी उपमहानगरपालिका–९ गैसारकी ४५ वर्षीया कालिन चौधरी । चौधरीले आफ्नो घर परिवार र दैनिकी चलाउनको लागि गरिरहेको मेहनत समाजको लागि निकै प्रेरणादायक छ । गाउँ÷गाउँबाट मकै खोजेर ल्याएर मध्यन्नको चर्को घाम पोलेर बेच्न सहज छैन । तर पनि उहाँले यहि काम गरेर नै जीविकोपार्जन गर्दै आउनु भएको छ ।
मेहनतले नै मानिसलाई सक्षम र सवल बनाउछ भन्ने आत्माविस्वास बोक्नु भएकी चौधरी ३० वर्ष अघिबाट यहि काम गर्दै आउनु भएको छ । मकै पोलेर नै घर परिवारको खर्च धान्दै आएको चौधरीले बताउनुभयो ।
“काम सानो ठूलो हुदैन”चौधरीले भन्नुभयो,“जुन कामलाई पनि मेहतनका साथ गर्न सकियो भने त्यसबाट सन्तुष्टि मिल्छ । मैले सडकमा बसेर ३० वर्षबाट अघि मकै पोलर बेच्दै आएकी छु । यो कामप्रति म खुसी छु । यहि काम गरेर घर खर्च चलाएकी छु ।”
अन्य समयमा मकैको व्यापार सामन्य हुने भएपनि मङ्सिर महिनादेखी बैसाख महिनासम्म राम्रो हुने उहाँले बताउनुभयो । सिजनमा भन्दा वेमौसमको समयमा मकै राम्रो विक्री हुने भएकोले दिनरात नभनि मेहनत गर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । विहान ५ बजे मोरङको भाउन्ने तथा अन्य विभिन्न स्थानमा मकैको खोजिमा निस्कनु पर्ने दैनिकी नै रहेको उहाँले बताउनुभयो ।
त्यहाँबाट मकै लिएर आएपछि दिनको १२ बजेबाट साँझको ७ बजेसम्म मकै पोलेर बेच्दै आएको उहाँको भनाइ छ । यसरी मेहनतका साथ पोलेको मकै प्रति गोटा २५ देखी ३० रुपैँयामा विक्री हुने उहाँले बताउनुभयो । आफ्नो खर्च कटार दैनिक रु. चारदेखी पाँच सयसम्म आम्दानी हुने उहाँको भनाइ छ ।“यो काम मेरो दैनिकी नै बनेको छ” उहाँले भन्नुभयो,“विहान सवेरै उठेर मकैको खोजीमा बाहिर जान्छु । मकै लिएर आएपछि दिनको १२ वजेबाट साँझ ७ बजेसम्म यहि स्थानमा बसेर विक्री गर्छु ।”
श्रीमानले घर व्यवहार चलाउन सहयोग नगर्ने भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी आफैँलाई रहेको उहाँले बताउनुभयो । श्रीमानको मादक पदार्थ सेवन गर्ने बानीले परिवारमा बढी किचलो हुने उहाँले सुनाउनुभयो । मकै पोलेर नै दुःखका साथ चार जनाको परिवार पाल्दै आएको चौधरीले बताउनुभयो । यहि काम गरेर उहाँले दुई छोरीलाई शिक्षा दिक्षा दिँदै आउनु भएको छ । उहाँकी कान्छी छोरी कक्षा ५ मा पढ्छिन्, भने माइली छोरीले कक्षा १० सम्म पढेर छाडेकी छिन् । माइली छोरीले उहाँलाई यहि काम सहयोग गर्दै आएकी छिन् ।
तीन जना छोराछोरी मध्ये छोराको सडक दुर्घटनामा दुःखद निधन भएको उहाँले सुनाउनुभयो । विभिन्न समस्या झेल्दै भएपनि परिवारलाई पाल्न दुःखका साथ मकै पोलेर बेच्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । मकै पोलेर बेच्दा सडकमा हिड्नेहरुले दुःख दिने गरेको उहाँको दुखेसो छ । अन्य समयमा भन्दा पनि परेको समयमा भने मकै पोल्न समस्या हुने कालिनले बताउनुभयो ।
“मनमा जति नै पिठा भएपनि घर परिवार त चलाउनै पर्यो” कालिनले भन्नुभयो,“कमाएर पाल्ने छोराको पनि सडक दुर्घटनामा निधन भयो । घर परिवार चलाउन श्रीमानको पनि राम्रो साथ छैन । त्यहि भएर यो काम गर्नु पर्ने मेरो बाध्यता छ ।”