अझै पनि ४८ स्थानीय तहसडक विहीन , स्थानिय तहको सुचि सहित


काठमाडौ, २२  पौष ।

सरकारले देशभरका मुख्यमुख्य गाउँ र वडालाई सडक सञ्जालले जोड्ने घोषणा गर्दै आएको भए पनि ४८ स्थानीय तहमा  मोटरबाटो पुगेको छैन । ३७ जिल्लाको २ सय ५९ वडामा पनि सडक सञ्जाल पुगेको छैन ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडा) का अनुसार १५ जिल्लाका तीन नगरपालिकासहित ४८ स्थानीय तह सडक सञ्जालसँग जोडिन सकेका छैनन् ।

देशभर कुल ७ सय ५३ स्थानीय तह छन् । जसमध्ये ३ नगरपालिका र ४५ गाउँपालिका राष्ट्रिय सडक सञ्जालभन्दा बाहिर छन् । हुम्ला र डोल्पा जिल्लामा त साविकको सदरमुकाममा समेत अभैm मोटरबाटो पुगेको छैन । डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठले सडक सञ्जाल नपुगेको स्थानीय तहमा सडक निर्माणका लागि बजेट नै उपलब्ध नगराइएको बताए ।

स्थानीय निकायबाट संवैधानिक रूपमा अधिकार सम्पन्न स्थानीय तह गठन भएपछि डोलिडारमा आउने बजेट सिधै स्थानीय तहमा पुगेको उनले बताए ।

‘हामीसँग बजेट नै छैन,’ श्रेष्ठले भने, ‘हाम्रो उद्देश्य सबै स्थानीय तहलाई जोड्ने नै हो । तर, सरकारले कुरा मात्रै गर्छ, हाम्रा लागि बजेट छुट्याउँदैन ।’

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको डोलिडारसँग चालू आर्थिक वर्ष सबै कार्यक्रमका लागि कुल १ अर्ब रुपैयाँ मात्रै बजेट रहेको उनले बताए ।

संघीय संरचना लागू भएपछि अब डोलिडार कायम रहने कि नरहने भन्ने अन्योल उत्पन्न भइरहेकाले डोलिडारबाट सञ्चालित कार्यक्रमसमेत अन्योलमा परेको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार डोलिडारले हुम्लालाई मुगु हुँदै सडक सञ्जालले जोड्ने तयारी गरिरहेको छ । यसका लागि बेलायती दातृ संस्था डीएफआईडीले ९ मिलियन डलर खर्च गर्ने र नेपाल सरकारले ७० लाख रुपैयाँ लगानी सम्झौता गरिएको छ ।

‘डीएफआईडीको सहयोगमा हामीले काम सुरु गर्न लागेका छौं तर सरकारले चाहिँ बजेट नै छुट्याएको छैन,’ श्रेष्ठले भने, ‘यसले अन्योल उत्पन्न भएको छ ।’

मुगुबाट हुम्ला जोड्न करिब सय किलोमिटर मात्रै सडक निर्माण गर्नुपर्ने भएकाले डीएफआईडी र सरकारबीचको सम्झौता लगातार अघि बढे तीन वर्षभित्रै जोड्न सकिने उनले बताए । हाल देशभरि कुल ५७ हजार किलोमिटर सडक छ । सामान्यतः पहाडी क्षेत्रमा एक किलोमिटर सडक निर्माण गर्न करिब ७० लाख रुपैयाँ लाग्छ । तर, हुम्ला जुम्लाजस्ता जिल्लामा भने एक किलोमिटर सडक खन्न एक करोड रुपैयाँ लाग्ने श्रेष्ठले बताए ।

जिल्ला गाउँपालिका /नगरपालिका
ताप्लेजुङ फक्तालुङ, मिक्वाखोला, सिरिजंगा
सोलुखुम्बु खुम्बु पासाङल्हामु, लिखु पिके, महाकुलुङ, सोताङ
काभ्रे महाभारत, खानीखोला
धादिङ रुबी भ्याली
चितवन इच्छाकामना
जाजरकोट जुनीचाँदे, बारेकोट
डोल्पा ठूली भेरी, त्रिपुरासुन्दरी, डोल्पो बुद्ध, शे–फोक्सुन्डो, काइके, छार्का ताङसोङ, जगदुल्ला, मुड्केचुला
कालिकोट तिलागुफा, पचालझरना, सान्नीत्रिवेणी,
नरहरिनाथ, कालिका, महावै, पलाता
मुगु मुगुम कार्मारोङ, सोरु
हुम्ला सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाँड, चंखेली, अदानचुली, ताजाकोट
बाजुरा गौमुल, स्वामीकार्तिक, छेडेदह
बझाङ काँडा
कैलाली मोहन्याल
बैतडी सुर्नया, सिगास, पञ्चेश्वर, डिलासैनी
दार्चुला अपि हिमाल, लेकम  राजधानी दैनिकबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार