
गणेश विष्ट
भोजपुर, ६ असार ।
लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भोजपुरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ। लागु औषध नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यालय, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन भइरहेका छन्। उहाँका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर अवैध रूपमा रोपिएका १ लाख ३९ हजार ३५ बोट गाँजा नष्ट गरिएको छ।
उहाँका अनुसार यस अवधिमा १ हजार ५५६ केजी तयारी गाँजासहित १४ जनालाई नियन्त्रणमा लिइएको छ। जसले जिल्लामा लागुऔषध नियन्त्रण अभियान तीव्र रूपमा अघि बढिरहेको संकेत गर्दछ।
यसैक्रममा पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रममा कानूनी व्यवस्था, जिल्लाको वर्तमान अवस्था तथा लागु औषध नियन्त्रणका प्रयासबारे जानकारी गराइएको थियो। साथै, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रवाह भइरहेका सेवासम्बन्धी नागरिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष किरण राईले समाजमा हुने अपराधिक गतिविधि नियन्त्रण तथा रोकथामका लागि स्थानीय नागरिकको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो। उहाँले अपराध सम्बन्धी सूचना समयमै प्रहरीसम्म पु¥याउन नागरिकलाई आग्रह गर्नुभयो। साथै, गाँजालाई आयआर्जनको सम्भावित स्रोतका रूपमा उल्लेख गर्दै राज्यले स्पष्ट कानूनी व्यवस्था गरी वैधानिक खेतीको सम्भावना अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो।
नागरिक सुनुवाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले लागु औषध दुरुपयोग नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । समाजमा जनचेतना अभिवृद्धि गदैै प्रभावकारी कानूनी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता नै दीर्घकालीन समाधानको आधार भएको उहाँको भनाइ छ । भोजपुरमा पुरुष भन्दा महिला लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो ।





















