षडानन्द नगरपालिकामा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सुरु


भोजपुर,६ असार । भोजपुरको षडानन्द नगरपालिका–१४, बोयास्थित स्वास्थ्य चौकीमा आजदेखि शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सुरु भएको छ। शिविर भोलिसम्म सञ्चालन हुने जनाइएको छ।

षडानन्द नगरपालिका र नेपाल नेत्र ज्योती संघ भोजपुरको आयोजनामा तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा आँखासम्बन्धी विभिन्न रोगहरूको परीक्षण, परामर्श तथा आवश्यक बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ। शिविरमा आवश्यक औषधि र चस्मा समेत निःशुल्क वितरण गरिने व्यवस्था मिलाइएको छ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले ग्रामीण भेगका नागरिकलाई सहज रूपमा विशेषज्ञ आँखा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले आँखासम्बन्धी समस्या भएका नागरिकलाई शिविरको अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो।

शिविरबाट षडानन्द नगरपालिका तथा आसपासका क्षेत्रका सयौं नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार शिविरमा करिब २५० जनाले आँखा जाँच गराउने अपेक्षा गरिएको छ भने ७० देखि ८० जनासम्मको मोतियाबिन्दु लगायतका आँखासम्बन्धी शल्यक्रिया हुने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार