पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित पञ्चकन्या मन्दिरमा ४ हजार केजीको गौमाताको शिलामूर्ति अनावरण


भोजपुर, ५ असार । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ।

धार्मिक किम्वदन्तीअनुसार पाँच थुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो। एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब १२ लाख रुपैयाँ लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो। पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट संकलित रकमबाट मन्दिर निर्माण समितिमार्फत गौमाताको प्रतिमा स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

मूर्ति दीर्घकालीन रूपमा सुरक्षित रहोस् भन्ने उद्देश्यले बलियो र गुणस्तरीय शिलाबाट निर्माण गरिएको भट्टराईले बताउनुभयो । साथै  शिव, गणेश, नाग र पञ्चकन्याका अन्य शिलामूर्तिहरूसमेत मन्दिर परिसरमा स्थापना गरिएको छ।

पञ्चकन्या क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण र पूर्वाधार निर्माणका कामहरू अघि बढाइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । उहाँका अनुसार यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष किरण राईले पञ्चकन्या मन्दिरलाई “पूर्वको पशुपति” का रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । किम्वदन्तीअनुसार यस क्षेत्रमा गाई आएर पञ्चकन्या देवीलाई दूध चढाउने विश्वास रहेकाले सोही आधारमा गौमाताको प्रतिमा निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

“किम्वदन्ती अनुसार यस स्थानमा गाई आएर पञ्चकन्या देवीलाई दूध चढाउने गरेको विश्वास छ,” अध्यक्ष राईले भन्नुभयो “त्यसैलाई आधार बनाएर गौमाताको मूर्ति निर्माण गरिएको हो, जसले यहाँको धार्मिक पहिचानलाई अझ सुदृढ बनाउनेछ।”

स्थानीयवासी निरप्रसाद फुयालका अनुसार पञ्चकन्या देवी शक्तिशाली मानिन्छिन् र यहाँ दर्शन गरेमा मानिसका चिताएका इच्छा पूरा हुने जनविश्वास रहेको छ। मन्दिरको किम्वदन्तीलाई आधार बनाएर गाउँपालिकाले थालेको संरक्षण र विकासको काम प्रशंसनीय रहेको उहाँले बताउनुभयो । साथै मन्दिर परिसरमा रहेको च्याङ्ग्रे पोखरीको पानी कहिल्यै नसुक्ने उहाँको भनाइ छ ।

यहाँ गजुरसहित करिब ३१ फिट अग्लो पञ्चकन्या देवीको मन्दिर निर्माण भइरहेको छ। पुरातात्विक शैलीमा निर्माण गरिने मन्दिरको छाना तामाको बनाइने योजना रहेको छ। मन्दिर निर्माणको अनुमानित लागत करिब १ करोड ८३ लाख ८४ हजार ८४८ रुपैयाँ रहेको जनाइएको छ।

मन्दिर निर्माणका लागि २०८३ वैशाख ९ गतेदेखि  १८ गते सम्म  सञ्चालन गरिएको विराट महायज्ञबाट करिब १ करोड रुपैयाँ संकलन गरिएको थियो। त्यसपछि पनि दाताहरूबाट थप सहयोग जुट्ने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार