भोजपुरमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रणबारे सचेतना कार्यक्रम


युवराज विष्ट

भोजपुर, ९ जेठ । भोजपुरमा शिशुको समुचित पोषण र मातृ–शिशु स्वास्थ्य सुदृढीकरणलाई लक्षित गर्दै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको प्रयोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा आमाको दूधको महत्व, स्तनपानका फाइदा तथा कानूनी व्यवस्थाबारे जानकारी गराइएको हो । साथै स्थानीय औषधि पसलका थोक तथा खुद्रा व्यवसायीहरूलाई अत्यावश्यक अवस्थाबाहेक आमाको दूध प्रतिस्थापन गर्ने सामग्री बिक्री–वितरण नगर्न आग्रह गरिएको छ।

आमाको दूधबाहेकका प्रतिस्थापन सामग्री प्रयोग गर्दा शिशुको स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे समेत सहभागीलाई सचेत गराइएको थियो। स्वास्थ्य कार्यालय भोजपुरकी प्रमुख सिर्जना बनमालीले आमाको दूध शिशुका लागि पूर्ण पोषणयुक्त, सुरक्षित तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक स्रोत भएकाले यसको विकल्प कुनै पनि कृत्रिम पदार्थले पूरा गर्न नसक्ने बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बजारमा पाइने पाउडर दूध तथा अन्य प्रतिस्थापन सामग्रीको अनावश्यक प्रयोगले शिशुको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताउँदै आमाको दूध खुवाउने अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार यस्ता वस्तुको प्रयोगले संक्रमणको जोखिम बढाउने, कुपोषण निम्त्याउने तथा दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने भएकाले यसप्रति सबै सचेत हुन आवश्यक छ।

कार्यक्रमका क्रममा नेपाल सरकारद्वारा जारी मातृदूध प्रतिस्थापन (बिक्री, वितरण तथा नियन्त्रण) ऐन, २०४९ तथा सोसम्बन्धी नियमावलीबारे पनि जानकारी गराइएको थियो। उक्त कानुनअनुसार आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको प्रचार–प्रसार, निःशुल्क वितरण वा प्रलोभन दिने कार्य निषेध गरिएको छ। उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई कानुनी कारबाहीको व्यवस्था रहेको स्वास्थ्यकर्मीहरूले स्पष्ट पारे।

स्वास्थ्यकर्मीहरूले शिशु जन्मेको एक घण्टाभित्रै आमाको दूध खुवाउन सुरु गर्नुपर्ने र कम्तीमा छ महिनासम्म केवल आमाको दूध मात्रै खुवाउनुपर्ने विषयमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार