
युवराज विष्ट
भोजपुर, ४ चैत ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
गत चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु. २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार प्रभावित परिवारको अवस्थालाई मध्यनजर गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु. २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो। “प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पु¥याउनु हाम्रो दायित्व हो,” अध्यक्ष राईले भन्नुभयो, “क्षतिको विवरण संकलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ।”
हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन्। हावाहुरीले विशेषगरी छाना उडाएका, घरका केही भाग भत्किने तथा अन्नबालीमासमेत क्षति पुगेको स्थानीयले बताएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण क्षति पुगेका सबै परिवारलाई राहत उपलब्ध गराइने जानकारी दिनुभयो ।


















