
युवराज विष्ट
भोजपुर, ३ चैत ।
वन डढेलोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न भोजपुरमा सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको छ । भोजपुरमा सञ्चालन भइरहेको वन डढेलो व्यवस्थापन सप्ताहका अवसरमा मंगलबार डिभिजन वन कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।
अभियानको तेस्रो दिन आज भोजपुरको जिरो प्वाइन्टबाट जिल्ला प्रशासन कार्यालयसम्म सचेतनामूलक प्लेकार्डसहित प्रभातफेरी आयोजना गरिएको थियो। प्रभातफेरीमा वनसँग सम्बन्धित संघसंस्था, सरकारी कार्यालय, सुरक्षा निकाय तथा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले “वन जोगाऔँ, भविष्य बचाऔँ”जस्ता सन्देशमूलक नारासहित डढेलो नियन्त्रणका लागि सचेतना फैलाएका थिए।
‘डढेलो नियन्त्रणमा प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम चैत ७ गतेसम्म जारी रहने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले बताउनुभयो । कार्यक्रमअन्तर्गत जनचेतनामूलक सामग्री वितरण, सञ्चार माध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका उहाँले बताउनुभयो ।
कार्यक्रमपछि आयोजित सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी राजन पौडेलले वन मानव जीवनको अभिन्न पाटो भएकाले यसको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले डढेलोका कारण वातावरणीय सन्तुलनमा असर पर्ने, जैविक विविधता नष्ट हुने तथा जनधनमा ठूलो क्षति पुग्ने भएकाले समयमै सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले वन डढेलोका कारण जिल्लामा वर्षेनी ठूलो क्षति हुने गरेको उल्लेख गर्दै यसको रोकथाम र नियन्त्रणका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले वन संरक्षणका लागि वृक्षारोपण, नियमित अनुगमन तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
डिभिजन वन कार्यालयका अनुसार भोजपुरका पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिका, अरुण गाउँपालिका, रामप्रसादराई गाउँपालिका तथा भोजपुर नगरपालिकाको तल्लो भेग डढेलोको उच्च जोखिममा रहेका क्षेत्र हुन्। ती स्थानहरूलाई लक्षित गरी विशेष कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सरोकारवाला निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्थानीय नागरिकको सहभागितामा प्रभातफेरी, अन्तरक्रिया, सचेतनामूलक तालिम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।
वन डढेलोको प्रमुख कारण मानव लापरबाही, असावधानीपूर्वक आगो बाल्ने, सुक्खा मौसम तथा वन क्षेत्रमा गरिएको अव्यवस्थित गतिविधि रहेको बताइन्छ।
यसलाई नियन्त्रण गर्न समयमै सूचना दिने, सामुदायिक निगरानी बढाउने तथा आगलागी हुनसक्ने गतिविधिमा नियन्त्रण आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। कार्यक्रमका अवसरमा डिभिजन वन कार्यालयले जिल्ला सुरक्षा समितिलाई एक थान वीन ब्वलोर सामग्री हस्तान्तरण गरेको छ ।


















