
भोजपुर, २३ माघ । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केका दृष्टिविहीन युवक समिर राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ। वडा कार्यालयको पहल तथा समन्वयमा भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले २४ वर्षीय राईलाई घरमै पुगेर नागरिकता हस्तान्तरण गर्नुभएको हो।
दृष्टिविहीन भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिन कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले प्रशासनसँग समन्वय गरी घरमै सेवा उपलब्ध गराएको वडा अध्यक्ष रामु थापा मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार नागरिकता प्राप्त भएसँगै अब समिर राईले राज्यले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरू सहज रूपमा लिन सक्नेछन्। नागरिकता अभावमा सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको भन्दै वडाले यस्ता सेवामुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

















