
युवराज विष्ट
भोजपुर, २३ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप तथा बृहत् माघी मेलामा चर्चित गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । विहिवार साँझ खरेलले ‘परम्परा ब्याण्ड’सहित प्रस्तुत गरेका लोकप्रिय तथा सदाबहार गीतहरूमा दर्शकहरू उत्साहपूर्वक झुमेका थिए ।
मेलास्थलमा स्थानीयवासीसहित टाढा–टाढाबाट आएका दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । खरेलले दर्शकसँग प्रत्यक्ष संवाद गर्दै प्रस्तुत गरेका गीतहरूले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो । गीतसङ्गीतसँगै दर्शकहरू नाच्दै, गुनगुनाउँदै रमाएका दृश्यले माघी मेलाको माहोल थप उल्लासमय बनेको थियो ।
स्थानीय संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको बृहत् माघी मेलामा विभिन्न स्थानीय कलाकारहरूको प्रस्तुति समेत समावेश गरिएको छ । साथै, तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिताले खेलप्रेमी दर्शकलाई समेत आकर्षित गरेको छ ।
आयोजकका अनुसार मेलाले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास लिइएको छ । माघी मेला तथा गोल्डकप प्रतियोगिता आज सम्पन्न हुँदैछ ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा गुठा फुटबल क्लब टेम्केमैयुङलाई ३–० गोलअन्तरले पराजित गर्दै अल स्टार फुटबल क्लब धरान फाइनलमा प्रवेश गरेको हो । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङलाई ४–१ गोलअन्तरले हराउँदै छथर गाउँपालिका पनि फाइनलमा पुगेको छ ।
पौवादुङमा रंगशालामा आज यी दुई टिमबीच फाइनल खेल हुने आयोजकले जनाएको छ । गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद रु. दुई लाखसहित मेडल र प्रमाणपत्र पाउनेछ । माघ १४ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

















