
युवराज विष्ट
भोजपुर, ९ माघ ।
सुशासनलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित भोजपुरको रामप्रसादराई गाउँपालिकामा जनस्तरसम्म लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । सुशासनका अवधारणा, नागरिक अधिकार र दायित्वबारे जनतालाई जानकारी गराउँदै उनीहरूलाई जनचासोका विषयमा प्रश्न उठाउन सक्षम बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालनको तयारी थालिएको हो ।
कार्यक्रमलाई गाउँपालिकाका सबै वडासम्म कसरी प्रभावकारी रूपमा पु¥याउने भन्ने विषयमा छलफल गर्दै गाउँपालिकाको सुशासन तथा स्थानीय सेवा समितिको आयोजनामा स्थानीय सरकारसम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष थामबहादुर राई, प्रमुख जिल्ला अधिकारी राजन पौडेल, जनप्रतिनिधि तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।
वडा नं. ६ का वडाध्यक्ष तथा सुशासन तथा स्थानीय सेवा समितिका संयोजक एकराज आचार्यका अनुसार कार्यक्रममार्फत नागरिकलाई सुशासनका आधारभूत पक्ष, स्थानीय सरकारको भूमिका, सेवा प्रवाह, पारदर्शिता र जवाफदेहिताका विषयमा जानकारी दिइनेछ ।
“जनतालाई सुशासनका विषयमा सचेत र सबल बनाउँदै उनीहरूले स्थानीय सरकारसँग समयसापेक्ष र तथ्यगत जिज्ञासा राख्न सक्ने वातावरण निर्माण गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य हो,”उहाँले भन्नुभयो ।
उहाँका अनुसार कार्यक्रम गाउँपालिकाका सबै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ । यसबाट स्थानीय सरकार र नागरिकबीचको दूरी घट्नुका साथै सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
“सुशासन भनेको केवल सरकारी संयन्त्रको विषय मात्र होइन, नागरिकको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ,” संयोजक आचार्यले भन्नुभयो,“त्यसैले सुशासनका विषयलाई जनतामाझ लैजाने उद्देश्यले हामीले यो कार्यक्रमको तयारी गरेका हौँ ।”
कार्यक्रमले सुशासनसम्बन्धी राज्यले तय गरेका मापदण्ड पूरा गर्न गाउँपालिकालाई थप सहज बनाउने, सार्वजनिक सेवामा नागरिकको निगरानी बढाउने र स्थानीय तहको कार्यसम्पादनमा सुधार ल्याउने विश्वास लिइएको छ ।

शुसासन तथा स्थानीय सेवा समितिका संयोजक तथा वडा नं ६ का वडाध्यक्ष एकराज आचर्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष थामबहादुर राई र विषेश अथिति प्रमुख जिल्ला अधिकारी राजन पौडेल रहनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवाला पक्षको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण प्रमुख जिल्ला अधिकारी पौडेलले गर्नु भएको थियो ।



















