
युवराज विष्ट
भोजपुर, १ माघ ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र गङ्गा खोलामा आजदेखि मक्कर मेला सुरु भएको छ । यस क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको मक्कर मेला यस वर्ष पनि भव्य रूपमा सञ्चालन गरिएको हो ।

गङ्गा खोलाको पानीमा स्नान गर्दा छालासम्बन्धी विभिन्न रोग निको हुने तथा धार्मिक कर्मकाण्डमा चढाउने प्रचलन रहेको गोल्मे गङ्गा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिनुभयो । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा ठूला पानीका मुहान रहेको यस स्थानमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण वर्षेनी सङ्यामा भक्तजनको आवागमन हुने गरेको उहाँको भनाइ छ ।
“आज गङ्गा खोलामा मक्कर मेलाको आयोजना गरेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “गङ्गा खोलाको आफ्नै विशिष्ट महत्व छ । यसको धार्मिक र प्राकृतिक महत्व उजागर गर्दै यो क्षेत्रको प्रचार–प्रसार गर्ने हाम्रो मुख्य उद्देश्य हो ।”
गोल्मे राजा र गोल्मे रानी भिरको काखमा अवस्थित उक्त स्थलको संरक्षण तथा प्रवद्र्धनमा वडा कार्यालयसँगै स्थानीय नागरिक सक्रिय रूपमा जुट्दै आएका छन् । यस क्षेत्रलाई मेला–महोत्सवमार्फत चिनाउने उद्देश्यले विगतका वर्षदेखि निरन्तर रूपमा मक्कर मेला आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्र गङ्गा खोलाको आफ्नै विशिष्ट महत्व रहेकाले यसको विकास र प्रचार–प्रसारमा वडा कार्यालयले विशेष जोड दिएको रामप्रसादराई गाउँपालिका–६ का वडा अध्यक्ष एकराज आचार्यले बताउनुभयो । उहाँका अनुसार गङ्गा खोलाका सबै मुहान कहिल्यै नसुक्ने, वर्षायाममा समेत पानी धमिलो नहुने तथा मुहानहरू दक्षिणबाट उत्तरतर्फ बग्ने विशेषताका कारण यस क्षेत्रको धार्मिक र प्राकृतिक महत्व अझ बढेको छ ।
“हामी गङ्गा खोलाको समग्र विकासमा जुटेका छौँ,” वडा अध्यक्ष आचार्यले भन्नुभयो, “यस स्थलका विविध विशेषता र पौराणिक महत्व उजागर गर्न मक्कर मेला आयोजना गरिएको हो । यसको विकासका लागि प्रचार–प्रसार अपरिहार्य छ ।”
आज बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने मेलामा साविक वडास्तरीय भलिबल प्रतियोगिता, महिला टोपी लुकाइ प्रतियोगिता, बाँसमा भाले समात्ने प्रतियोगिता तथा सुन्तला खाने प्रतियोगितालगायत विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।



















