षडानन्दका किसानलाई सुन्तलाजन्य परिकार बनाउने तालिम


युवराज विष्ट
भोजपुर, २७ पुस ।
भोजपुरको षडानन्द नगरपालिकामा सुन्तला खेतीमा संलग्न किसानलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाजन्य परिकार बनाउने तालिम दिइएको छ । सुन्तलाको जुस, अचारलगायत विभिन्न परिकार तयार गरेर किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।
तालिम सुन्तलाको बढी उत्पादन हुने षडानन्द नगरपालिका–१० स्थित पुनर्जागरण समूहमा आबद्ध किसानलाई लक्षित गरी सञ्चालन गरिएको हो । तालिममा सहभागी किसानलाई सुन्तलाको जुस, अचारलगायत परिकार बनाउने व्यवहारिक अभ्यास गराइएको छ भने प्याकेजिङ, लेबलिङ र भण्डारणसम्बन्धी आधारभूत जानकारीसमेत प्रदान गरिएको छ ।
तालिमका क्रममा किसानहरूले उत्पादनसँगै बजार सुनिश्चिततामा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रशोधित सामग्रीको बजारीकरण, मूल्य निर्धारण र ब्रान्डिङमा स्थानीय तहले थप सहयोग गर्नुपर्ने किसानको माग रहेको छ ।
स्थानीय स्तरमा उत्पादन हुने सुन्तलाको सही सदुपयोग गर्दै त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने दीर्घकालीन सोचअनुसार नगरपालिकाले यस्ता कार्यक्रम अघि बढाइरहेको षडानन्द नगरपालिका उप–प्रमुख प्रमिला राईले बताउनुभयो । उहाँका अनुसार सुन्तलाको दाना मात्र बिक्री गरिरहेका किसानलाई प्रशोधन सीप सिकाएर बजारसम्म जोड्ने प्रयास भइरहेको छ ।
“सुन्तलाबाट राम्रो आम्दानी लिन सक्ने वातावरण निर्माण गर्नु नगरपालिकाको प्राथमिकता हो,” उप–प्रमुख राईले भन्नुभयो, “त्यसका लागि उत्पादन, प्रशोधन र बजारीकरणलाई एउटै शृङ्खलामा जोड्ने काम गरिरहेका छौँ । किसानलाई आवश्यक प्रोत्साहनसँगै सीप विकासका कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”
नगरपालिकाले सुन्तला खेती विस्तार गर्न उन्नत जातका सुन्तलाका बिरुवा वितरण गर्नुका साथै रोग–किरा नियन्त्रणका लागि प्राविधिक टोली किसानका बगानमै पुगेर आवश्यक परामर्श र सहयोग गर्दै आएको जनाएको छ । यसले किसानको उत्पादन वृद्धि हुनुका साथै गुणस्तरमासमेत सुधार आउने नगरपालिकाले अपेक्षा लिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजनामार्फत सुन्तला प्रशोधनका लागि आवश्यक मेसिनसमेत वितरण गरिएको नगरपालिकाले जनाएको छ । यसले परिकार उत्पादनलाई सहज बनाउने र व्यवसायिक रूपमा अघि बढ्न किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल षडानन्द नगरपालिका–२, ६, ८, १०, ११ र १२ वडामा सुन्तलाको उत्पादन बढी हुने गरेको छ । नगरपालिकाले यी क्षेत्रलाई सुन्तला उत्पादनका सम्भावित ‘पकेट क्षेत्र’ का रूपमा विकास गर्दै किसानको आयस्तर सुधार गर्ने योजना अघि सारेको छ ।
स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धिसहित बजारसम्म पु¥याउने यस्ता तालिमले किसानलाई आत्मनिर्भर बनाउने र नगरपालिकाको आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार