
युवराज विष्ट
भोजपुर, २७ पुस ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला’ आयोजना हुने भएको छ । गाउँपालिकाको मुख्य आयोजनामा आगामी २०८२ साल माघ १४–२३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।
स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा सामाजिक–सांस्कृतिक गतिविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । प्रतियोगिता पौवादुङमा रंगशालामा सञ्चालन हुने उहाँले बताउनुभयो ।
“खेलकुद क्षेत्रसँगै पर्यटनको विकास गर्ने लक्ष्यका साथ विगतका वर्षदेखि पौवादुङमा गोल्डकप र माघी मेला आयोजना गर्दै आएका छौँ,”अध्यक्ष राईले भन्नुभयो,“यस वर्ष पनि सोही उद्देश्यअनुसार कार्यक्रमको तयारी थालिएको छ । माघ १४ देखि २३ गतेसम्म गोल्डकपसँगै माघी मेला सञ्चालन हुनेछ ।”
प्रतियोगितामा देशभरका उत्कृष्ट क्लब तथा खेलाडीहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु. ३ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु.२ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई समेत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि टिम दर्ता अन्तिम मिति माघ १० गते दिउँसो ४ बजेसम्म तोकिएको छ भने खेल तालिका माघ ११ गते दिउँसो ४ बजेसम्म सार्वजनिक गरिने तेस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला आयोजक समितिले जनाएको छ ।
प्रतियोगितासँगै सञ्चालन हुने वृहत माघी मेलामा स्थानीय कला, संस्कृति, परम्परा झल्कने सांस्कृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिनेछन् । गाउँपालिकाले प्रतियोगिता तथा मेलालाई सफल बनाउन खेलप्रेमी, खेलाडी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।
















