धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवद्र्धन गर्न माघ १ गते मक्कर मेला आयोजना


युवराज विष्ट
भोजपुर, २० पुस ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवद्र्धन गर्ने उद्देश्यले मक्कर मेला आयोजना गरिने भएको छ। देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल भए पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयबासी यसको संरक्षण र प्रचारमा जुटेका हुन्।
प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रचार–प्रसारका लागि आगामी माघ १ गते भव्य मेला आयोजना गर्न लागिएको हो। गोल्मे राजा र गोल्मे रानी भिरको काखमा अवस्थित उक्त स्थलको संरक्षण र प्रवद्र्धनमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका छन्। ढुङ्गाको कापबाट उम्रिएका तीनवटा ठूला पानीका मुहान रहेको यस स्थानमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजनहरूको आवागमन हुने गरेको गोल्म,े गङ्गा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिनुभयो।
उहाँका अनुसार यस स्थललाई मेला–महोत्सवमार्फत चिनाउने उद्देश्यले विगतका वर्षदेखि नै मक्कर मेलाको आयोजना हुँदै आएको छ। यहाँको पानीमा स्नान गर्दा विभिन्न छालासम्बन्धी रोग निको हुने तथा धार्मिक कर्मकाण्डमा चढाउने प्रचलन रहेको उहाँले बताउनुभयो। माघे सङ्क्रान्तिका अवसरमा यहाँ परम्परागत रूपमा भव्य मेला लाग्ने गर्दछ।
“गङ्गा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिक स्थल हो,” अध्यक्ष राईले भन्नुभयो, “गोल्मे राजा र गोल्मे रानी भिरको काखमा रहेको यो स्थान प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ। यस स्थलका विविध विशेषता र पौराणिक महत्व उजागर गर्न मक्कर मेला आयोजना गरेका हौँ। यसको विकासका लागि प्रचार–प्रसार गर्नु हाम्रो मुख्य लक्ष्य हो।”
धार्मिक तथा पर्यटकीय क्षेत्र गङ्गा खोलाको आफ्नै विशिष्ट महत्व रहेकाले वडाले यसको विकाससँगै प्रचार–प्रसारमा जोड दिएको वडा अध्यक्ष एकराज आचार्यले बताउनुभयो। उहाँका अनुसार गङ्गा खोलाका सबै मुहान कहिल्यै नसुक्ने, वर्षायाममासमेत धमिलो नहुने र मुहानहरू दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले यसको धार्मिक र प्राकृतिक महत्व अझ बढेको छ।
“हाम्रो वडामा रहेको गङ्गा खोला अनौठो प्रकृतिको धार्मिक पर्यटकीय क्षेत्र हो,” वडा अध्यक्ष आचार्यले भन्नुभयो, “तर अझै ओझेलमै छ। त्यसैले विगतका वर्षझैँ यस वर्ष पनि प्रचार–प्रसारका लागि मक्कर मेला आयोजना गरेका छौँ।”
यस क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने स्थानीयबासी पाण्डव राईले बताउनुभयो। “गङ्गा खोला अनौठो र आश्चर्यजनक प्रकृतिको पवित्र धार्मिक स्थल हो,” उहाँले भन्नुभयो, “स्थलगत अवलोकन गर्दा यहाँको भू–बनोटले चकित बनाउँछ। तर अहिलेसम्म यस स्थानको समुचित संरक्षण र प्रचार हुन सकेको छैन।”
हाल स्थानीयबासी मक्कर मेलाको तयारीमा जुटेका छन्। मेलाका अवसरमा जिल्लाका विभिन्न स्थानबाट श्रद्धालु तथा पर्यटकको ठूलो जमघट हुने गरेको राईले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार