अरुण गाउँपालिकालाई ‘प्रथम अरुण अध्यक्ष कप’ भलिबलकाे उपाधि


भोजपुर, २१ मङ्सिर । भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको ‘प्रथम अरुण अध्यक्ष कप’ अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि अरुण गाउँपालिकाले जितेको छ।

मङ्सिर १८ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते सम्पन्न भएको थियो। फाइनलमा अरुण गाउँपालिका र हतुवागढी गाउँपालिकाबिच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा अरुण गाउँपालिकाले हतुवागढी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

विजेता टोलीले नगद पुरस्कार रु.२ लाख ६६ हजार ६ सय ६६ प्राप्त गरेको छ भने उपविजेता हतुवागढी गाउँपालिकाले रु। २ लाख पुरस्कार प्राप्त गरेको छ।

तृतीय स्थानका लागि भएको खेलमा आमचोक गाउँपालिकाले षडानन्द नगरपालिकालाई २–१ ले पराजित गर्दै रु. १ लाख पुरस्कार प्राप्त गरेको छ। षडानन्द नगरपालिका सान्त्वना हुँदै रु. ३३ हजार ३ सय ३१ प्राप्त गरेको छ।

त्यसैगरी उत्कृष्ट खेलाडी तथा विभिन्न विधामा समेत नगद पुरस्कार प्रदान गरिएको थियो। विजेता तथा सहभागी खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि भोजपुर जिल्लाका प्रदेशसभा सदस्य विनोद वान्तावाले प्रतियोगिताले खेलाडीलाई खेलकुद क्षेत्रमा अगाडि बढ्न महत्त्वपूर्ण सहयोग गर्ने बताउनुभयो।

गाउँपालिकामा खेलकुद विकास, युवामा खेलप्रति रुचि अभिवृद्धि तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो।

समापन समारोहमा अरुण गाउँपालिका उपाध्यक्ष बिनिता ढकाल,प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदास, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका पदाधिकारी, खेलकुदकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार