टेम्केमैयुङ– ४ नागीद्धारा ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान


भोजपुर, १४ मङ्सिर ।
समाज निर्माणमा जीवनभर पु¥याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको छ। १०३ वर्षीय इन्द्रबहादुर राईसहित स्थानीय वरिष्ठ नागरिकलाई वडाले सम्मानपत्र र न्यानो कपडा वितरण गर्दै कदर गरेको हो।
वडाध्यक्ष हर्कराज राईले जेष्ठ नागरिक समाजको जीवित इतिहाससँगै सामाजिक परिवर्तनका साक्षी र अनुभवका भण्डार भएकाले उहाँहरुको योगदानको कदर गर्ने लक्ष्यले सम्मान गरिएको बताउनुभयो । यस्ता कार्यक्रमले जेष्ठ नागरिकले समाजमा छोडेका मूल्य, संस्कार र जीवनअनुभव पुस्तौँसम्म पु¥याउन सहयोग पुग्ने उहाँको भनाइ छ।
सम्मानितमध्ये लुङ्गिनका बोमप्रसाद राईले वडाबाट प्राप्त कदरले आफूहरू जस्तै उमेर ढल्कदै गएका नागरिकलाई मनोबल बढाएको प्रतिक्रिया दिनुभयो। “हाम्रो पुस्तालाई सम्झेर सम्मान गरिँदा जीवनभरको श्रम व्यर्थ गएन भन्ने अनुभूति भयो ।” उहाँले भन्नुभयो। त्यस्तै समाजमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्नूहुने अन्य २० जना समाजसेवीलाई समेत वडाले सम्मान गरेको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जेष्ठ नागरिक राष्ट्रका गौरव र समुदायका अमूल्य सम्पदा भएको उल्लेख गर्दै तिनको ज्ञान, सीप र जीवनअनुभवलाई नयाँ पुस्ताले आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “जेष्ठ नागरिकले बोकेका अनुभव सामाजिक विकासका आधार हुन्,” अध्यक्ष बस्नेतले भन्नुभयो, “उनीहरूको सम्मान गर्नु भनेको हाम्रा भावी पुस्तालाई संस्कार सिकाउनु पनि हो ।”
कोशी प्रदेशका सांसद विनोद वान्तवाले जेष्ठ नागरिकको स्याहार–सुसार, स्वास्थ्य उपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताउनुभयो।
“जेष्ठ नागरिकले दिएर गएको ज्ञान र अनुभव अगाडि बढ्ने ऊर्जा हो,” सांसद वान्तवाले भन्नुभयो, “त्यसैले नीति तथा योजनाले पनि जेष्ठ नागरिकमैत्री र समावेशी बन्न आवश्यक छ।”
वडाध्यक्ष हर्कराज राईको अध्यक्षता तथा कोशी प्रदेश सांसद विनोद वान्तावाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा,जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङ, गाउँपालिका अध्यक्ष सरोज बस्नेत,वडा ३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राई,स्थानीय समाज सेवी, बुद्धिजिवी, शिक्षक विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार