
भोजपुर, १५ मङ्सिर
भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतिय अपराध (साइबर क्राइम) सम्बन्धि सचेतना फैलाउने अभियान सुरु गरेको छ। गाउँपालिका भित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो।

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान शुरु गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमार्फत गाउँपालिकामा सचेतनाका कार्यक्रम शुरु भएको उहाँको भनाइ छ । विद्यालयस्तरमै सचेतना अभिवृद्धि गराउने उद्देश्यले यहाँका सबै माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।“हामीले माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर लैङ्गिक हिंसा तथा विद्युतिय अपराधबारे जानकारी दिइरहेका छौँ,” उपाध्यक्ष राईले भन्नुभयो, “अभियानमार्फत कुनै पनि किसिमको हिंसालाई रोकथाम गर्ने र विद्यार्थीलाई सुरक्षित बनाउनेतर्फ सहयोग पुग्ने अपेक्षा राखिएको छ ।”
अभियानमार्फत विद्याथीलाई लैङ्गिक हिंसाका रूप र प्रभाव, विद्यालय तथा समुदायमा देखिने सूक्ष्म हिंसाका अवस्था, अनलाइन ठगी, फेक आईडी र ब्ल्याकमेलिङजस्ता विद्युतिय अपराधका जोखिम,सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानुनी व्यवस्थालगायत विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।
.
महिला विकास वोर्ड वडा संयोजक भवगती राईको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई रहनु भएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई, इलाका प्रहरी कार्यालय तिवारभञ्याङका प्रमुख मिलन थापा, शिक्षा शाखा प्रमुख सुनिता कटुवाल, युवा समाज सेवी ज्ञानेन्द्र राई,शिक्षक, विद्यार्थी स्थानीयलगायतको सहभागिता रहेको थियो ।
















