सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४ सय ४३ ले पाए सेवा


भोजपुर, २० मङ्सिर । जनस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित नेपाली सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गण भोजपुरले शनिबार एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पुर्याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य रहेको नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख प्रशुराम थापाले जानकारी दिनुभयो ।

शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, टेम्केमैयुङ गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल भोजपुर, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाहरूको समन्वय र सहकार्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कान, नाक, घाँटी, आँखासमेतका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका छन् । त्यस्तै बाल–रोग, दन्त–रोग, स्त्री–रोग, सामान्य रोगको जाँच तथा आवश्यक औषधिसमेत निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।

स्थानीय बासिन्दाले दैनिक व्यस्तता र आर्थिक अभावका कारणले सदरमुकाम पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै सेनाले गाउँमै सेवा पु¥याउनु प्रशंसनीय रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।

शिविर टेम्केमैयुङ–६ कोटस्थित जनोदय माध्यमिक विद्यालयको सञ्चालन गरिएको हो । नेपाली सेनाले ग्रामीण क्षेत्रमा नियमित रूपमा यस्ता सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर नेपाली सेनाले सञ्चालन गरेको शिविरले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपरका प्रमुख राजु लामा, राष्ट्रिय अनुसन्धान कार्यालय भोजपुरका प्रमुख रुद्र गुर्माछान मगर, जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदी स्थानीय जनप्रतिनिधीहरु, लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार