भोजपुर ५ मा विहान पनि वडा कार्यालयको सेवा


भोजपुर, २१ साउन ।
स्थानीय तहमा कामकाजको लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राहि घण्टौँसम्म लाइन बस्नु पर्ने अवस्था बनेको हो ।
यतिबेला स्थानीय तहका वडा कार्यालयहरुले सामाजिक सुरक्षा भत्ता नविकरण, राजस्व संकलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा भने सेवाग्राही तथा कर्मचारीले हैरानी भोग्नु परेको छ ।
सर्भरको कारण सेवा प्रवाहमा समस्या भएपछि भोजपुर नगरपालिका ५ बोखिमले विहान कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ । विहान दुई दिन जति राम्रोढंगले सेवा दिएको भएपनि पछिल्लो समयमा सर्भर त्यहि समस्या देखिएको वडा सचिव अभिनास राईले जानकारी दिनुभयो । सेवा प्रवाहका क्रममा दैनिक जसो सर्भर नचल्दा सेवाग्राही मारमा पर्ने गरेको उहाँको भनाइ छ ।
“अहिले वडास्तरमा सर्भरमार्फत गर्ने कामको चाँप छ”उहाँले भन्नुभयो,“विहान राम्रो चल्न की भनेर कार्यालय खोलेर सेवा प्रवाह गर्दै आएका छौँ । केहि दिन त राम्रै चल्यो अहिले फेरी विहान पनि उस्तै समस्या छ । सर्भर नचल्दा दुई चार मिनेटमा हुने कामको लागि घण्टौँ लाग्ने अवस्था छ ।”


सर्भरमा मुख्य रुपमा सामाजिक सुरक्षा र राष्ट्रिय परिचय पत्र, बायोमेट्रिक र सामाजिक सुरक्षा भत्ता बीच लिङ्ग गर्न समस्या रहेको उहाँको भनाइ छ । सर्भर नचल्दा सेवा प्रवाहमा अत्यान्तै समस्या रहेको उहाँको भनाइ छ ।
वडामा सामाजिक सुरक्षा भत्ता लिने तीन सय ५२ जना लाभग्राही मध्ये विहान सेवा सञ्चालन गरेर एक सयको हारहारीको नविकरण सम्पन्न भएको उहाँको भनाइ छ ।
प्रायः सवै स्थानीय तहमा सर्भर नल्दा सेवा प्रवाहमा समस्या रहेको उहाँले जानकारी दिनुभयो ।
सर्भरमा समस्या आएर सेवा प्रवाहमा कठिनाई भएपछि नागरिकलाई सहज रुपमा सेवा दिने लक्ष्यले विहान पनि कार्यालय सञ्चालनमा ल्याएको भोजपुर नगरपालिका ५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो । विहानको समयमा पनि पछिल्लो समय समस्या देखिन थालेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार