
युवराज विष्ट
भोजपुर, १३ साउन ।
भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा इलाका प्रशासन कार्यालय भवन निर्माण सम्पन्न भएको छ । भाडामा सञ्चालन भईरहेको इलाका प्रशासन कार्यालयले २८ वर्षपछि आफ्नो भवन पाएको हो ।
नवनिर्मित भवनबाट मंगलबारदेखी सेवा सुचारु गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । यहाँ रु. आठ करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएर भवन निर्माण गरिएको हो ।
“स्थापनाको लामो समयपछि आफ्नै भवनबाट सेवा शुरु गरेका छौँ”इलाका प्रशासन प्रमुख अधिकारीले भन्नुभयो,“आफ्नै भवनबाट सेवा प्रवाह भएपछि नागरिकलाई सेवा लिन सहजता भएको छ ।”

तीनतले भवनमा आवाससहित ३० वटा कोठा रहेका छन् । दिङ्लामा स्थापना काल अर्थात २०५४ सालबाट भाडाको घरबाट इलाका प्रशासन कार्यालय सञ्चालन भईरहेको थियो । यो इलाका प्रशासन कार्यालयबाट उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले प्रशासनिक सेवा लिदै आएका छन् ।
नयाँ भवनबाट सेवा प्रवाहले उत्तरी क्षेत्रका दुई स्थानीय तहका नागरिकलाई सेवा लिन सहजता भएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । सुविधा सम्पन्न भवन निर्माणले वषौँबाट सेवा प्रवाहमा भईरहेको झन्झटको अन्त्य भएको प्रमुख उदासको भनाइ छ ।


















