
युवराज विष्ट
भोजपुर, १३ साउन ।
भोजपुरको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा शुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पु¥याउन १५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।
यहाँ सरकारले घोषणा गरे अनुसार करिव रु. १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सुचारु गरिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । १५ शैय्या नै सञ्चालन गर्ने लक्ष्यका साथ नवनिर्मित भवनबाट सेवा शुरु भएको अध्यक्ष खत्रीको भनाइ छ ।
“नवनिर्मित आधारभूत अस्पताल भवनबाट सेवा सुरु गरेका छौँ”अध्यक्ष खत्रीले भन्नुभयो,“ केन्द्र सरकारले घोषणा गरे अनुुसार भवन सम्पन्न गरेर सेवा सुरु गर्न पाउँदा खुसी लागेको छ । यो अस्पतालले यहाँका नागरिकलाई सहज सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”
राज्यको अवधारणा अनुसार अस्पताललाई १५ शैय्या नै सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरणको व्यावस्थापन गरिने प्रमुख प्रशासकीय अधिकतृ जीतमान जिमीले बताउनुभयो ।
सरकारले भोजपुरमा पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसादराई, आमचोक र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ बेडको अस्पताल शिलान्यास गरेको थियो । पौवादुङमा गाउँपालिकामा पनि ५ शैय्याको अस्पताल निर्माण सम्पन्न भएको छ ।
सरकारले २०७७ सालमा आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचमा पु¥याउने उद्देश्यले ३९६ स्थानीय तहमा शिलान्यास गरेको अस्पताल मध्येको यो एउटा अस्पताल हो । भोजपुरमा शिलान्यास भएका अस्पतालहरुमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको पहिलो अस्पताल बनेको छ । अस्पताल सञ्चालनमा आएसँगै पूर्वी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको अरुण ७ सिक्रेटारका वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।















