
भोजपुर, २८ असार । पौवादुङमा गाउँपालिकाको १७ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न भएको छ । सभा मार्फत आर्थिक २०८२/०८३ नीति तथा कार्यक्रम पास गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ४३ करोड ३४ लाख ३९ हजार ८७९ बराबरको पेस गरेको बजेट पारित गरिएको छ ।
सभामार्फत कोशी प्रदेशका पहाडी जिल्लालाई मात्रै मिलाएर प्रदेश सरकार गठन गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय परित गरिएको छ । सभाले विभिन्न समितिहरुले पेस गरेको प्रतिवेदनसमेत पारित गरेको छ । सभा मार्फत गाउँपालिकाका वरिष्ठ सल्लाहकारको रुपमा रहेका जगदिस वैद्य र हरि कृष्ण दाहाललाई बदर गर्ने निर्णय पारित गरिएको छ ।
यो आर्थिक वर्षमा गाउँपालिकामा आएको कुल बजेट मध्ये ८९ दशमलव २० प्रतिशत खर्च भएको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।
गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पशुपालन कार्यक्रमलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ । फुसको छानो हटाउने, तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक कालोपत्रको, प्रशासनिक भवन निर्माणको लागि समेत बजेट विनियोजन गरिएकोछ । त्यस्तै पालिकाले कृषि एम्बुलेन्स सञ्चालन, कृषक साझेदारी कार्यक्रम, पालिकाले खुर्सानी खेती विकास कार्यक्रम, तोरी खेती कार्यक्रम, उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम अन्तरगत गाई पालन, दुग्ध विकास कार्यक्रमलाईसमेत निरन्तरता दिईएकाे छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष किरण राईले यहाँका जनताको आवश्यकता र गाउँपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । केन्द्र सरकारबाट आउने बजेट बर्षेनी घट्दै जाने समस्याको कारण जनताको इच्छा आकाङ्क्षा समेट्न स्थानीय सरकारलाई समस्या हुने गरेको बताउनुभयो । उपलब्ध भएको बजेटको अधिकतम सदुपयोग गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले जेष्ठ नागरिक घरदैलो कार्यक्रम, युनाइटेड वल्ड स्कुल नेपालसँगको साझेदारीमा बालमैत्री पूर्वाधारसहितको विद्यालय निर्माण गरी सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ । यस अघि सञ्चालनमा रहेको रातो भाले कार्यक्रम, नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ ।


















