
भोजपुर, २३ असार । भोजपुरको रामप्रसादराई २ धोद्लेखानीमा हत्या गरिएका मृतक परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मृतक चार जनाको शवको फेरेन्सिक परीक्षण लागि धरान पठाउन आर्थिक अभाव भएपछि रामप्रसादराई गाउँपालिका सचिवालयबाट संकलित रुं एक लाख १४ हजार ८७१ हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष थामबहादुर राईले संकलित एक लाख १४ हजार ८७१ रुपैँया रकम मृतक परिवारलाई हस्तान्तरण गर्नु भएको हो । मृतक परिवारको आर्थिक अवस्था अत्यान्तै कमजोर रहेकोले गाउँ कार्यपालिकाको वैठक वसेर पालिकाको तर्फबाट पनि सहयोग गर्ने उहाँको भनाइ छ ।
“मृतक परिवारको आर्थिक अवस्था कमजोर छ” अध्यक्ष राईले भन्नुभयो,“सचिवालयबाट संकलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौँ । गाउँपालिकाको तर्फबाट पनि सहयोग गछौँ ।” शनिबार राति आफ्नै ज्वाईले एकै परिवारका चार जनाको सामूहिक हत्या गरेका थिए ।
शवहरुलाई परीक्षणको लागि सोमबार विहान धरान पठाइएको छ । घटना स्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।
शनिबार राती भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ बर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ।

















