
युवराज विष्ट
भोजपुर, २० असार ।
भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरको रु.पाँच करोड ६२ लाख लागतमा यहाँ पक्की पुल निर्माण गरिएको हो ।
चिरखुवा खोलामा पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले लामो समयदेखी समस्या झेल्दै आएका थिए । चिरखुवा खोलामा कोशी प्रदेश सरकारको रु.पाँच करोड ६२ लाख लागतमा २० दशमलव ६० मिटर लम्बाईको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो ।
“चिरखुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ”प्रमुख रेड्डीले भन्नुभयो,“यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकता साथका अघि बढाएका थियौँ। पुल सञ्चालनमा आएपछि दुई पालिकाका स्थानीयलाई आवतजावतमा सहजता बनेको छ ।”
पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उहासले बताउनुभयो । षडानन्द नगरपालिका वडा नं १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दुरी छोटिएको नगर प्रमुख उदासले बताउनुभयो ।
यो खोलामा पक्की पुल नहँुदा वर्षातको समयमा दुई वडाका नागरिक ११ किलोमिटर घुमेर वालुवाबेँसीबाट नरपालिका केन्द्र दिङ्ला आउने गरेको प्रमुख उदासको भनाइ छ ।
“चिरखुवा खोला पक्की पुल सञ्चालनमा आएको छ”प्रमुख उदासले भन्नुभयो,“यहाँ पुल नहुँदा नागरिकलाई नगरपालिकासम्म आउन नै समस्या थियो । यो पुलले यहाँका नागरिकको ११ किलोमिटर दुरी छोटिएको छ ।”
पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत शुरुवात गरिएको छ । भौगोलिक विकटता तथा विविध समस्याका बीच पनि पुल तोकिएको मापदण्ड अनुसार समयमा निर्माण सम्पन्न गरेको निर्माण कम्पनी युडि विल्डर्सका प्रमुख उत्तम खड्काले बताउनुभयो ।
चिरखुवा खोला पक्की पुल निर्माण भएपछि साल्पासिलिछो गाउँपालिकाका नागरिकको वषौँदेखीको समस्या अन्त्य भएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । यहाँ पक्की पुल निर्माणले साल्पाबासीलाई भोजपुर सदरमुकामसम्म आवतआवत गर्ने दुरी छोटिएको उहाँको भनाइ छ ।
ज्यानको जोखिम मोलेर काठको पुलबाट खोला पार गदैै आएको अवस्थामा पक्की पुल बनेपछि उत्साह बढेको स्थानीयबासी मोहन बस्नेतले बताउनुभयो । चिरखुवा खोला पक्की पुलले स्थानीयको दैनिकीमा सहजता थलिएको उहाँको भनाइ छ ।
“काठको पुलबाट खोला पार गर्दैै आएका थियौँ”उहाँले भन्नुभयो,“वर्षातको समयमा यो खोला तर्न सक्ने अवस्था थिएन। कतिवेला काठको पुल भत्किएर मरिन्छ भन्ने चिन्ता हुन्थ्यो ।पक्की पुल बनेपछि हामीलाई सहजता भएको छ ।” यो पुल निर्माणको काम २०७९ साल माघमा सम्झौता भएर दुई वर्ष निर्माण अवधि रहेको थियो




















