भोजपुर बहुमुखी क्याम्पसलाई रु.छ लाख बराबरको स्मार्ट बोर्ड हस्तान्तरण


भोजपुर, १८ असार । यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि करिब रु. छ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो ।

क्याम्पसको शिक्षण सिकाईलाई प्रविधिमैत्रीसँगै सहज बनाउनको लागि स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पु¥याउन रु. २७ लाख बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।“क्याम्पसको विकासको लागि हामीले सहयोग गरिरहेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“क्याम्पसले माग गरे अनुसार तीन वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेका छौँ । भोजपुरको एक मात्र बहुमुखी क्याम्पस भएकाले यसलाई प्रविधिमैत्री बनाउन आवश्यक सहयोग गरेका हौँ ।”

रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीहरूको पठनपाठन शुल्कसमेत गाउँपालिकाले उपलब्ध गराएको उहाँको भनाइ छ । ।

क्याम्पस प्रमुख पर्वत कुमार राईले स्मार्ट बोर्डको प्रयोगले कक्षा कोठालाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताउनुभयो । क्याम्पसको शैक्षिक सुधारसँगै भौतिक विकासमा जोड दिएको उहाँको भनाइ छ । क्याम्पसको विकास लागि अन्य स्थानीय तहहरुसँग पनि बजेट माग गरिएको प्रमुख राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार